सन्देश श्रेष्ठ
पोखरा, भदौ २६
सहारा क्लव पोखराले गत वर्ष आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपबाट ३ लाख रुपैयाँ बचत गरेको छ । क्लवले गत माघमा आयोजना गरेको २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट ३ लाख २१ हजार ८ सय ३९ रुपैयाँ बचत गरेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
सहाराले प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ आम्दानी भई १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको जनाएको छ ।
प्रतियोगिताबाट आयोजक सहाराले गेट टिकटबाट आम्दानी गुमाउँदै गएको छ । तर प्रायोजकबाट भने आम्दानी बढाएको देखिएको छ । सहाराले सो प्रतियोगिता अवधीभर गेट टिकटबाट कुल ८ लाख ३३ हजार ५ सय रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको बचत रकमभन्दा झण्डै आधाले कम हो । क्लवले २४ औं प्रतियोगिताबाट २४ लाख २२ हजार रुपैयाँ बचत गरेको थियो ।
प्रतियोगिताको व्यानर प्रायोजकबाट १७ लाख ८२ हजार ३ सय ६५ रुपैयाँ संकलन भएको क्लवले जनाएको छ । त्यस्तै, पोखरा महानगरपालिकाका विभिन्न वडाहरुबाट तथा अन्य संघसंस्थाबाट ३ लाख ९२ हजार ५ सय ८६ रुपैयाँ प्राप्त भएको अध्यक्ष थापाले बताए । उनका अनुसार गेट टिकटबाट आम्दानी गुमे पनि सरकार र संघसंस्थाबाट प्राप्त हुने सहयोग बढेको बताए । उनले भने,‘टिकटबाट आम्दानी गुम्दै गएको छ, तर प्रदेश सरकार र पोखरा महानगरपालिकालगायतका सरकारबाट प्राप्त हुने सहयोग तथा प्रायोजकबाट प्राप्त हुने रकम बढेको छ । यसले गर्दा प्रतियोगिता गर्न केहि सहज भएको छ ।’
प्रतियोगिताबाट बचत भएको रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित कठीन परिस्थितिका तथा विपन्न वर्गका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणलगायतमा खर्च गरिने क्लवले जनाएको छ । एकेडेमीमा हाल २८ जना बालकहरु आश्रित छन् । उनीहरुको आवासीय खर्चसहित शिक्षा, स्वास्थ्य र खेलकुदको लागि एकेडेमीले खर्च गर्दै आएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले क्लवले फुटबलको विकासमा अतुलनीय योगदान दिइरहेको बताए । ‘निस्वार्थ भावले सहाराले गरेको कर्मलाई हामीले सहयोग गर्नुपर्छ भनेर नै अहिलेसम्म मुख्य प्रायोजन गर्दै आएका छौं र आगामी दिनमा पनि हाम्रो सहयोग निरन्तर रहन्छ’–उनले भने ।
पोखरा–९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानीले प्रतियोगिताले पोखराको खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । यस्ता प्रतियोगिताको अपनत्व र अभिभावकत्व राज्यले लिनुपर्ने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा…





