पोखरामा पेन्सन पट्टाको विशेष शो ,सामाजिक यथार्थ र मौलिक संस्कृतिले सबैको मन छोयो


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित




पोखरामा नेपाली चलचित्र पेन्सन पट्टाको विशेष शो गरिएको छ ।

पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई चलचित्रको पर्दामा उतारिएको छ । पोखराको मिडटाउन सिनेमाजमा गरिएको विशेष शोमा चलचित्र हेर्न गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ,पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुश्माकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं गायक विनोद बानियाँलगायत सहभागी भए । त्यसैगरी पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ, गुरुङ फिल्म एसोसिएसन नेपालसहित पोखराका विभिन्न क्षेत्रका प्राज्ञिक, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो। चलचित्र हेरिसकेपछि पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ‘पेन्सन पट्टा’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएकाले मन छोएको प्रतिक्रिया दिए। चलचित्रले उठाएका विषय समाजकै ऐनाजस्तो रहेको उनको भनाइ थियो।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङका लागि भने चलचित्रको दुई घण्टाको समय सकिएको पत्तै भएन। उनले चलचित्र हेर्दा समय बितेको अनुभूति नै नभएको बताए। समाज, परिवार, संस्कार, लाहुरेको प्रेम र जीवनसँग जोडिएको कथालाई चलचित्रले प्रभावकारी ढंगले प्रस्तुत गरेको उनको प्रतिक्रिया थियो। चलचित्रमा कलाकारहरूको अभिनय पनि जीवन्त लागेको उनले बताए।सांसद सरस्वती गुरुङले ‘पेन्सन पट्टा’लाई सामाजिक यथार्थवादी चलचित्रका रूपमा चित्रण गरिन्। विशेषगरी ताङतिङ गाउँका मनमोहक दृश्य र त्यही परिवेशको कथा चलचित्रमा प्रस्तुत गरिनु आफूलाई मन परेको उनको भनाइ थियो।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चलचित्रले गुरुङ समुदायको जीवनशैलीसँगै भूतपूर्व गोर्खा सैनिक, परिवार, पुरानो संस्कृति र परम्परालाई पर्दामा उतारेको बताए। ताङतिङ, भुजुङ, पोखराको खुदीखोला तथा बेगनास आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले पहाडी भूगोल र त्यहाँको जीवनलाई कथासँगै हिँडाएको उनको प्रतिक्रिया थियो। लेकमा हुने भेडीगोठ, गोठालो जीवन, गाउँको परिवेश, स्थानीय लवज र शैलीदेखि संस्कृति तथा परम्परासम्मलाई चलचित्रले पर्दामा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको मेयर आचार्यले बताए। उनका अनुसार चलचित्रभित्र एउटा साँचो प्रेमकथा पनि बगेको छ, जसले दर्शकलाई कथासँगै बाँधिराख्छ।‘पेन्सन पट्टा’को विशेष शोमा सहभागी अधिकांशले चलचित्रको कथा र प्रस्तुतिको प्रशंसा गरेका छन्।

उनीहरूले चलचित्रले समाजमा कतै देखिने, कतै लुकेर रहने जीवनका कथालाई पर्दामा ल्याएको प्रतिक्रिया दिएका छन्। विशेषतः गुरुङ समुदायको मौलिकता, भूतपूर्व गोर्खा सैनिकको जीवनसँग जोडिएका संवेदना, परिवार र सम्बन्धका उतारचढाव तथा प्रेमलाई स्थानीय परिवेशसँग जोडेर प्रस्तुत गरिएकाले चलचित्र दर्शकसँग नजिकिएको सहभागीहरूको भनाइ छ।ताङतिङको डाँडाकाँडा, गाउँको बाटो, लेकको भेडीगोठ र गोठालो जीवनका दृश्यसँगै स्थानीय बोली र संस्कृतिले चलचित्रलाई केवल कथा सुनाउने माध्यम मात्र नभई एउटा भूगोल, एउटा समुदाय र एउटा जीवनशैलीको दृश्य अभिलेखजस्तो अनुभूति गराएको प्रतिक्रिया पनि विशेष शोमा सुनियो।परदेशी लाहुरेको जीवनसँग गाँसिएका सपना र पीडा, परिवारभित्रका सम्बन्ध,समयसँगै बदलिँदै गएको समाज र त्यसैबीच बाँचेका पुराना संस्कारलाई प्रेमको धागोले जोड्दै चलचित्रले कथा अघि बढाएको छ।

यसरी हेर्दा ‘पेन्सन पट्टा’ केवल मनोरञ्जनको कथा नभई गाउँको गन्ध, पहाडको सौन्दर्य, लाहुरेको जीवन, परिवारको माया, संस्कारको सम्झना र प्रेमको संवेदनालाई एउटै पर्दामा समेट्ने प्रयास गरेको प्रतिक्रिया विशेष शो मार्फत मिल्यो ।पोखरामा सम्पन्न विशेष शोले चलचित्रप्रति स्थानीय दर्शक तथा कला–संस्कृति क्षेत्रका व्यक्तित्वहरूको चासोसमेत देखाएको छ। सहभागीहरूको प्रतिक्रियाले चलचित्रले समेटेको सामाजिक यथार्थ र मौलिक परिवेश दर्शकको भावनासँग जोडिएको संकेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।