कुसाङ गुरुङले खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित




पोखरा । अन्तर्राष्ट्रिय धावक लेफ्टिनेन्ट रिटायर्ड कुसाङ कुमार गुरुङले तेस्रो संस्करणको खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन्। चार भञ्ज्याङ खाल्टे पर्वतमा जन्मिएका गुरुङले ब्रिटिश सेनामा नेपालीको वीरता र साहसको उच्च नमुना प्रस्तुत गर्दै लेफ्टिनेन्ट पदबाट अवकाश पाएका हुन्।
खेलकुदमार्फत राष्ट्र र राष्ट्रियतालाई विश्वसामु चिनाउँदै अन्तर्राष्ट्रिय धावकका रूपमा स्थापित गुरुङले मलेसियामा आयोजित माउन्टे किनाबालु क्लाइम्बाथनमा ह्याट्रिक गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ राख्न सफल भएका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १९ भन्दा बढी म्याराथनमा सहभागी भई खेलकुदको विकास र विस्तारमा योगदान गर्दै आएका छन्।
तत्कालीन ठानामौला गाउँ पञ्चायत वडा नं. ७ खाल्टे, हाल फलेवास नगरपालिका–८ मा स्वर्गीय पिता दिलबहादुर गुरुङ र स्वर्गीय माता धनसिरी गुरुङका पहिलो सन्तानका रूपमा जन्मिएका गुरुङले प्रारम्भिक शिक्षा श्रीजनज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरेका थिए। माध्यमिकस्तरको अध्ययन श्री त्रि–शहीद माध्यमिक विद्यालय पञ्चमूल स्याङ्जाबाट पूरा गरेका उनले सन् १९८३ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका थिए।
सेनामा प्रवेशपछि टीडीबीजीको आधारभूत तालिम लिएका उनी २÷२ गोर्खा राइफल्समा स्थानान्तरण भएका थिए। सन् १९८९ मा वर्षभरिका उत्कृष्ट एनसीओ अर्थात् अमल्दार ठहरिएर प्यारिस ट्रोफीबाट सम्मानित भएका गुरुङ सन् १९९४ मा पहिलो रोयल गोर्खा राइफल्समा पुगेका थिए। सन् १९९५ र १९९६ मा कमान्डर ट्रफी तथा फकल्यान्ड आइल्यान्ड कमेन्डेसन प्राप्त गरेका उनी सन् २००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टिनेन्ट तथा अधिकृतमा पदोन्नति भएका थिए। उनले २४ वर्षे सैनिक सेवा पूरा गरी अवकाश लिएका हुन्।
गुरुङले १० पटकभन्दा बढी ब्रिटिस फोर्सेस हङकङ क्रसकन्ट्री जितेका छन्। उनले ब्रिटिस फोर्सेस खुद रेस, ब्रिटिस आर्मी क्रसकन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथ्लेटिक समूह स्वर्ण पदक तथा फोर पिक रेस हङकङमा कीर्तिमानी समयसहित स्वर्ण पदक जितेका छन्। अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथनमा रजत पदक जितेका उनले १९ म्याराथन र २३ हाफ म्याराथन पूरा गरेका छन्।
सामाजिक क्षेत्रमा पनि सक्रिय गुरुङ तमुधीं यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएनए यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी र पर्वत वेलफेयर सोसाइटीका सल्लाहकार तथा सहारा यूकेका पूर्वअध्यक्ष हुन्। उनी रहन्मै समाज यूकेका अध्यक्षसमेत छन्।
तमुधीं यूकेका आजीवन सदस्य गुरुङलाई तमुधीं यूकेले प्रदान गर्ने सर्वोच्च सम्मान ‘आदर्श तमु २०२०’ बाट सम्मानित गरेको छ। विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसका अवसरमा आयोजित पहिलो संस्करणको खुला पर्वतीय दौडमा पनि उनलाई सम्मान गरिएको थियो। प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कपको २३औँ संस्करणको अवसरमा आयोजक सहारा क्लबले पनि उनलाई सम्मान गरेको थियो।
असोज २४ गते आयोजना हुने तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता–२०८३ लाई सफल बनाउन गुरुङले अघिल्लो वर्षजस्तै यस वर्ष पनि प्रथम पुरस्कार प्रायोजन गर्न लागेको कार्यक्रम संयोजक दीननाथ बरालले बताए।
प्रथम पुरस्कार प्रायोजन गरेसँगै प्रतियोगिता सम्पन्न नहुँदासम्म विभिन्न निकाय र सरोकारवालासँग हुने छलफल तथा प्रचार–प्रसारमा गुरुङको तस्वीरसहितको लोगो समावेश गरिने पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले बताए।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रले आयोजना गर्ने दौडमा खुला विधातर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खुलासहित ६ वटा इभेन्टमा प्रतियोगिता हुनेछ। दोस्रो संस्करणमा ८ देशका १६७ जना धावकले सहभागिता जनाएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।