सन्देश श्रेष्ठ
पोखरा, असोज १५
फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन व्यवसायी उत्साहित छन् । दुई सय पचास भन्दा बढी सहरसँग हवाई सञ्जालले जोडिएको दुबईमा पोखराबाट सिधा उडान भएपछि पोखराको पर्यटनले छलाङ मार्ने उनीहरुको विस्वास छ । त्यसैले त उनीहरु पोखरा–दुबई उडानको गफ गरेर थाक्दैनन् र प्रवद्र्धनका लागि हरेक दिन केहि न केहि गरिरहेकै हुन्छन् ।
तर पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरा–दुबई उडानको एकलौटी जस लिन थालेपछि उनीहरु बिच्किएका छन् । मेयर आचार्यले हरेक दिन पोखरा–दुबई उडानको सफलता आफ्नो कारणले भएको भन्दै सामाजिक सञ्जालमा रंग्याउनेदेखि भाषण गर्नेसम्मका हर्कतहरु गर्न थालेपछि पोखरेली पर्यटन व्यवसायी उनीसँग रुष्ट भएका हुन् । पोखरा–दुबई उडान गर्न फ्लाई दुबईका प्रतिनिधि पोखरा आउँदासम्म सुईंको नपाएका मेयर आचार्य हिजोआज भने आफ्नो कारणले फ्लाई दुबई पोखरा–उडान गर्न आएको दाबी गरिरहँदा त्यसको समन्वय गरेका पोखराका केहि पर्यटन व्यवसायी आक्रोषित भएका छन् ।
त्यतिमात्र होईन, मेयर आचार्यले पोखरेली ट्राभल एजेन्सीहरुलाई बाईपास गर्दै पोखरा–दुबईको टिकट काट्न कुनै एक ट्राभल एजेन्सीको नाम, ठेगाना र नम्बर राखेर प्रचार गरेपछि उनीहरु थप आक्रोषित छन् । मेयर आचार्यको एकलकाँटे स्वाभावबाट आजित भएका उनीहरुले सामुहिक छलफलबाट आपत्ति जनाएका छन् ।
छलफलमा उनीहरुले पोखरा–दुबई उडानका लागि फ्लाई दुबईलाई पोखरा भित्राउन पोखराका पर्यटन व्यवसायी संघ–संस्था, ट्राभल कम्पनी तथा ट्राभल एजेन्सीहरूको योगदान नभुल्न चेतावनीसमेत दिए । निरन्तरको सम्वाद, छलफल र वातावरण निर्माणका लागि पोखरेली पर्यटन व्यवसायी र ट्राभल कम्पनीहरुको योगदान भुल्ने प्रयास भएकाले ध्यानाकर्षण गराइएको एक पर्यटन व्यवसायीले बताए । नाम बताउँदा समस्या पर्ने भन्दै उनले भने,‘मेयर ज्यूको एकलकाँटे व्यवहारका कारण पर्यटन व्यवसायी हामी रुष्ट छौं, उहाँलाई सच्याउन दवाब दिने हाम्रो निर्णय भएको छ ।’
ट्राभल कम्पनीका एक सञ्चालकले पोखरालाई बाईपास गरेर मेयर आचार्यले गल्ती गरेको टिप्पणी गरे । हामीले टिकट काटिदिएका कारण पोखरा–दुबई उडान निरन्तर जारी छ,उनले भने,‘तर मेयरले पोखरेली ट्राभल कम्पनीहरुलाई बाईपास गरेर एक कम्पनीको नाम, ठेगाना र नम्बर राख्नु कत्तिको जायज हो ? यो सरासर गलत हो ।’
पर्यटन व्यवसायी र ट्राभल व्यवसायीहरु रुष्ट भएको थाहा पाएपछि मेयर आचार्यले समन्वय गर्ने प्रयास गरेको स्रोतको दाबी छ । हामी रुष्ट भएको उहाँकोमा जानकारी पुगेछ,उनले भने,‘त्यसपछि सम्पर्कमा आएर उहाँले आत्मआलोचना गर्नुभयो ।’ पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पोखरा र समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर भएको र यसलाई सफल बनाउनु सबैको दायित्व भए पनि मेयर आचार्यका कारण पहिले उत्साहित पर्यटन व्यवसायी अहिले शिथिलजस्तै बनेको उनको भनाई छ । यद्वपी आत्मआलोचना गरेका कारण केहि लचिलो भए पनि आगामी दिनमा मेयर आचार्यको व्यवहारले देखाउने उनले बताए । ‘हामीले पहिलेदेखि नै यात्रु सुनिश्चित गर्न सकिने, टिकट बिक्री तथा यात्रु व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं, त्यहि अनुसार फ्लाई दुबई पोखरा आउन तयार भयो, व्यवसायीहरूको यही निरन्तर पहल, सहकार्य र यात्रु सुनिश्चितताको प्रतिबद्धताले मात्रै फ्लाई दुबई पोखरा आएको हो तर मेयर आचार्य एक्लैले क्रेडिट लिँदा पोखरेलीको मन खिन्न भएको छ’–उनले भने ।
एक व्यवसायीले मेयर आचार्य सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनी सबैको साझा हुनुपर्नेमा कुनै एक ट्राभल कम्पनीको एजेन्टजस्तो भएर प्रस्तुत भएको टिप्पणी गरे । हामी कुनै एक कम्पनीको विरोधमा होइनौँ, ती व्यवसायीले भने,‘हाम्रो आग्रह समान अवसर, निष्पक्ष व्यवहार र पोखराका सबै पर्यटन तथा ट्राभल व्यवसायीप्रतिको समान सम्मान होस् भन्ने मात्र हो, तर मेयर आचार्यले त्यस्तो व्यवहार नगर्नु गम्भीर गल्ती हो ।’
बैठकमा सहभागी एक पर्यटन व्यवसायी ले भने मेयर आचार्यले पोखराका ट्राभल कम्पनीहरुले पोखरा–दुबई उडानको टिकट काट्छन् भन्नेबारेमा थाहा नहुँदा आफूले फ्लाई दुबई र अन्य कुनै एक संस्थाको मात्र नाम दिएको स्पष्टिकरण दिएको जानकारी दिए । तर उहाँको सो स्पष्टिकरणसँगै सबै एकजुट भएर पोखरा–दुबई उडान सफल बनाउने प्रतिबद्धता जनायौं,उनले भने,‘हिजो एक्लाएक्लै गर्दा मेयरसहित अरुहरुलाई पनि केहि नगरेजस्तो भएको हुनसक्छ, तर अब एकजुट भएर परिणाम निकाल्ने गरी अगाडि बढ्छौं ।’
पोखरेली पर्यटन व्यवसायीहरुले कसैलाई काखा र पाखा नगर्न मेयर आचार्यको ध्यानाकर्षणसमेत गराएका छन् । साथै उनीहरुले पोखरा–दुबई उडानको प्रवद्र्धन गर्न र पर्यटकलाई पोखरा आउनका लागि आह्वान गर्न सबैमा आग्रहसमेत गरेका छन् ।
पोखरामा १६५ भन्दा बढी टुर तथा ट्राभल कम्पनीहरू सञ्चालनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







