दिदी बहिनी बचाऊ (एसओएस) कास्कीको सामाजिक परीक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित




पोखरा । दिदी बहिनी बचाऊ (SOS Bahini) कास्की को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रम पोखरा–७, मासबारस्थित संस्थाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्यको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दुर्गा ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।
पत्रकार दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेको सामाजिक परीक्षणमा संस्थाले आवासीय बाल संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग, सीप विकास, पुनर्स्थापना तथा समुदायमा आधारित सहयोगका क्षेत्रमा गरेको काम र उपलब्धिहरू प्रस्तुत गरिएको थियो। संस्थाको संरक्षणमा हाल ६१ जना बालिका तथा युवती रहेका छन्। तीमध्ये मुख्य आवासीय गृहमा १० जना, चारवटा पारिवारिक गृहमा ३३ जना र क्रसरोड हाउसमा १८ जना रहेका छन्। संस्थाका अनुसार स्थापना कल बि.स. २०६१ सालदेखि हालसम्म १७१ जनाले आवासीय संरक्षण प्राप्त गरेका छन्।

शैक्षिक क्षेत्रमा यस वर्ष ९ जनाले एसईई र ७ जनाले कक्षा १२ उत्तीर्ण गरेका छन्। त्यस्तै एक जनाले स्वास्थ्य सहायक (एचए) र एक जनाले होटल व्यवस्थापनमा डिप्लोमा पूरा गरेका छन्। संस्थाको संरक्षण तथा सहयोगमा स्नातक तह, स्टाफ नर्स, स्वास्थ्य सहायक (एचए), बीएस्सी नर्सिङ, डिप्लोमा फार्मेसी, सफ्टवेयर इन्जिनियरिङ र रेडियोग्राफी लगायतका उच्च तथा प्राविधिक शिक्षामा ३७ जनाले अध्ययन गरिरहेको जनाइएको छ।

पुनर्स्थापनातर्फ यस वर्ष तीन जना बालिकाको पुनर्स्थापना गरिएको छ। संस्थाका अनुसार स्थापनादेखि हालसम्म ९१ जना पूर्ण र १९ जना आंशिक रूपमा गरी ११० जना पुनर्स्थापित भएका छन्।

सीप विकासतर्फ बहिनी तालिम केन्द्रबाट आर्थिक वर्ष २०८२/०८३ मा ५४ जना प्रशिक्षित भएका छन् भने संस्थाको इतिहासमा १,७८४ जना भर्ना र १,७४५ जनाले तालिम पूरा गरेका छन्। नृत्य, कराँते तथा चित्रकलालगायतका अतिरिक्त गतिविधिमा समेत बालिकाहरू सहभागी भएका छन्।
समुदायमा आधारित सहयोगअन्तर्गत २१ एकल महिला/आमा र ४२ आश्रित बालबालिका, तथा समुदायमा आधारित शिक्षा सहयोगमा ६९ बालबालिका हाल लाभान्वित रहेको जनाइएको छ। कारागार सहयोग कार्यक्रममार्फत करिब ४५ महिला र ५ आश्रित बालबालिकालाई सहयोग भएको छ।

संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा रु. ५ करोड ३८ लाख ४२ हजार ८९१.१२ आय, रु. ३ करोड ९२ लाख ४३ हजार १.२८ खर्च र रु. १ करोड ४५ लाख ९९ हजार ८८९.८४ बचत रहेको जानकारी दिएको छ। कुल आयमा सीएचएल लक्जेम्बर्गलगायत दातृ संस्थाको सहयोगको हिस्सा ९६.५५ प्रतिशत र आन्तरिक आयको हिस्सा ३.४५ प्रतिशत रहेको जनाइएको छ। संस्थाले कुल सञ्चित कोष रु. ८ करोड ६९ लाख ५४ हजार १५४.०३ रहेको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महावगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले सामाजिक परीक्षण सरल र स्पष्ट रहेको बताउँदै संस्थाले गरेको कामको प्रशंसा गरे। उनले नागरिकता प्राप्तिमा संस्थासँग सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। साथै संस्थालाई आफ्नै जग्गामा भवन निर्माण गर्ने दिशामा अघि बढ्न शुभकामना दिए।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले सामाजिक परीक्षण सफल भएको बताउँदै संस्थाको भौतिक तथा व्यवस्थापकीय अवस्थाको प्रशंसा गरिन्। उनले गैरनाफामूलक संस्थाको दीर्घकालीन आत्मनिर्भरताबारे थप छलफल आवश्यक रहेको धारणा राखिन्।
पूर्व संरक्षित विद्यार्थी ममता लामिछानेले संस्थाको सहयोगमा बी.फार्मा अध्ययन पूरा गरी हाल चरक हस्पिटलमा कार्यरत रहेको बताउँदै संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। त्यस्तै अन्य लाभग्राही तथा सरोकारवालाहरूले संस्थाबाट प्राप्त शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा अन्य सहयोगले कठिन अवस्थामा रहेका परिवार र बालबालिकालाई ठूलो सहयोग पुगेको बताएका थिए।

सामाजिक परीक्षणको फ्लोर ओपन सेसनमा लाभग्राही अभिभावक सम्झना केसी, चन्द्रवदन ट्रेड कन्सर्नका दीपेन्द्रराज आचार्य, लाभग्राही अभिभावक मिना भारती र मञ्जु श्रेष्ठले धारणा राखेका थिए। त्यसैगरी महिला विकासका लागि आमा समूहकी अध्यक्ष तुलसी बराल, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल, शहरी स्वास्थ्य केन्द्र पोखरा–७ की प्रमुख माधवी सिग्देल, संरक्षित विद्यार्थी तथा बीएस्सी नर्सिङकी अमिसा दहाल, गैरसरकारी संस्था महासंघ कास्कीका सचिव केसु भुजेल र स्टेप बाइ स्टेप माध्यमिक विद्यालयकी प्रिन्सिपल निर्मला बराल, कारागार कार्यालय कास्कीका कारागार प्रमुख सम्राट थापा लगायतले संस्थागत अनुभूति र आफूमा आएको सकारात्मक परिणाममुखि धारणा व्यक्त गरेका थिए।
कार्यक्रमकी अध्यक्ष दुर्गा ढकालले सहभागी तथा सरोकारवालाहरूको प्रतिक्रिया र सुझावले सामाजिक परीक्षणलाई थप अर्थपूर्ण बनाएको बताइन्। उनले आगामी दिनमा लिजमा रहेको संरचनाभन्दा आफ्नै जग्गामा भवन निर्माण गर्ने लक्ष्य रहेको बताउँदै सबैको सहयोगको अपेक्षा गरिन्।

संस्थाका कार्यकारी निर्देशक शोभा पहारीले संस्थाको कार्यक्रम तथा बजेट समाज कल्याण परिषद्बाट स्वीकृत हुने भएकाले सञ्चित कोष अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने स्पष्ट पारिन्। गैरनाफामूलक संस्थाको बचतलाई नाफाका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।

सामाजिक परीक्षक पत्रकार दीपेन्द्र श्रेष्ठले संस्थाको संस्थागत अवस्था, कार्यक्रम, उपलब्धि, लाभग्राही, आर्थिक अवस्था, सुशासन, सबल पक्ष, कमजोरी अवसर चुनौति तथा सरोकारवालाको प्रतिक्रियालाई समेटेर सुझाबसहित सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।