पोखरा महानगरपालिका वडा नं.१९ पुरञ्चौरमा रहेको तल्लाकोट स्वास्थ्य चौकीमा आगजनी र तोडफोड भएको छ ।
गएराती अपरिचित समुहले स्वास्थ्य चौकीका ४ वटा झ्यालका शिसा फोड्नुका साथै ढोकामा आगजनी गरेको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए । उनका अनुसार सुत्केरी स्याहार कक्षको बाहिरी ढोका अगाडी आगजनी भएको छ । घटना लगत्तै सार्दीखोला प्रहरी चौकीबाट पुगेका सुरक्षाकर्मिले घटनास्थलको अवलोकन गरी तोडफोड र आगजनीमा संलग्नको खोजी कार्य गरेको छ । स्थानीयले तत्काल देखेपछि अपरिचित समुह भागेकाले ठुलो क्षति हुन नपाएको वडा सदस्य आचार्यले बताए । आगजनी तथा तोडफोड गरिएको वडा सदस्य आचार्यले आपत्ति जनाएका छन् ।आचार्यले एक विज्ञप्ति जारी गर्दै स्थानीय समुदायको श्रमदान, सहयोग र भूमिदानबाट स्थापना भएको स्वास्थ्य चौकीमा आगजनी तथा तोडफोड हुनु अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन् ।
उनका अनुसार विगतमा ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोग गरी स्थानीयवासीको श्रमदानबाट तल्लाकोट स्वास्थ्य चौकी निर्माण गरिएको थियो ।उक्त स्वास्थ्य चौकी निर्माणका लागि स्वर्गीय हरिकृष्ण बास्तोलाले ४ रोपनी ९ आना १ पैसा ३ दाम र स्वर्गीय रुद्रनाथ आचार्यले २ आना ३ दाम जग्गा भूमिदान गरेका थिए । सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माणपछि त्यस आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आचार्यले सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै , तल्लाकोट स्वास्थ्य चौकीको संरक्षण र घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कारवाही गर्न माग गरेका छन् ।
स्थानीयवासीले पनि घटनाको गम्भीर, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी संलग्न व्यक्तिको तत्काल पहिचान गर्न, विगतका घटनासँग यसको सम्बन्ध भए–नभएको अनुसन्धान गर्न तथा प्रमाणका आधारमा दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरे । त्यसैगरी स्वास्थ्य चौकीको सुरक्षा व्यवस्था मजबुत बनाउन, सार्वजनिक सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्न र आवश्यक मर्मत तथा पुनःस्थापनाको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण…







