गुरुङ र मगर भाषा गण्डकी प्रदेशमा तुरुन्त सरकारी काम काजको भाषा बनाउ : तमु धिं नेपाल


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित




पोखरा । तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ भाषा(तमु क्युइ) र मगर भाषालाई सरकारी कामकाजको भाषाका रुपमा छिटो भन्दा छिटो कार्यन्वयन गराउन माग गरेको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र पेश गर्दै भाषा कार्यान्वयनका आवाश्यक प्रकृया अगाडि बढाउन माग गरिएको हो ।

तमु धिं नेपालका अध्यक्ष हुम तमु र महासचिव तथा अधिवक्ता जुनाकुमारी गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले सरकारी कामकाजको भाषाको रुपमा नेपाली देवनागरी लिपीलाई मान्यता दिएको भन्दै प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई पनि गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा स्थापना गर्न गराउन माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारले निर्माण गर्न लागेको भाषा कार्यदलमा लामो समयदेखि तमु समुदायको निम्ती क्रियाशिल, भाषा, ऐन, कानुन ज्ञान रहेको एवं स्थानियका आधारमा पनि तमु धिं नेपालको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्दछ । तमु र मगर समुदाय बसोबास रहेको गाँउ, भुगोलहरुको विद्यालयमा मातृभाषा पठन पाठन गर्न गराउन माग गरिनुका साथै मातृभाषा खोज, अध्ययन र तालिम केन्द्रको व्यवस्था गर्न अनुरोध गरिएको छ ।

साथै पटक पटकको आन्दोलनले व्यवस्थाहरु परिवर्तन त गर्यो तर अवस्था परिवर्तन गर्न यहाँहरुको पहल हुनेछ जनताले सरकार खोज्ने, नेता खोज्ने मात्रै नभई गण्डकी प्रदेश सरकार र यहाँका नेताहरुले जनता, संघ संस्थालाई सोध्ने, खोज्ने भावना बुझ्ने हुनुपर्दछ, हाम्रो अपेक्षा हो । फेरि पनि संविधान र संघीयताको मर्म र भावनालाई निति, कार्यक्रमहरु कार्यान्वयनमा सम्बोधन हुने पुर्ण विश्वासका साथ यो ज्ञापनपत्र माननीय मुख्य मन्त्री ज्यु समक्ष पेश गरेका छौं ।’

सोही क्रममा अध्यक्ष तमुले तमु (गुरुङ) मातृ र मगर भाषामा नामाकृत गाँउ, बस्ती, ठाँउ, भुगोलहरुको नामाकरण पुनः तमु र मगर भाषामै नामाकरण गर्न माग गरे । सरकारी कामकाजमा मगर र गुरुङ भाषा लागु गराउने प्रकृयामा यससंग सम्बिन्धित विभिन्न संघसंस्थाहरु तयारी अवस्थामा रहेको उनले बताए ।

सोही अवसरमा मुख्यमन्त्री पाण्डेले आदिवासी जनजातिका भाषा आफैमा संवेदनशिल कुरा भएकोले यसको विषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको जानकारी दिए । उनले एउटै गुरुङ र मगर समुदायको भाषा पनि भुगोल र परिवेश अनुसार फरकफरक भएकोले यससंग सम्बन्धित विभिन्न व्यक्ति र संघसंस्थासंग आवश्यक छलफल र परामर्श गरि छिट्टै नै गण्डकी प्रदेश सरकारको सरकारी काम काजको भाषाका रुपमा कार्यन्वयन गरिने प्रतिवद्धता व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।