सैनिक आवासीय महाविद्यालयमा पब्लिक स्पिकिङ एण्ड प्रेजेन्टेसन अभिमुखीकरण आयोजना


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित




पोखरा । सैनिक आवासीय महाविद्यालय पोखरामा बिबिए प्रथम सेमेस्टरका ६० विद्यार्थीहरूको लागि “पब्लिक स्पिकिङ एण्ड प्रेजेन्टेसन” विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। एभरेस्ट मिडिया हाउसका संचारकर्मि दीपेन्द्र श्रेष्ठको सहजकिरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको सार्वजनिक बोल्ने क्षमता अभिवृद्धि गर्दै उनीहरूको शैक्षिक तथा व्यावसायिक जीवनमा महत्त्वपूर्ण प्रस्तुतिकरण सीपको विकास गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा सहजकर्ता श्रेष्ठले पब्लिक स्पिकिङ र प्रेजेन्टेसनका महत्त्वपूर्ण पक्षहरूबारे जानकारी दिए । उनले आत्मविश्वास अभिवृद्धि गर्ने विधि, भाषणको तयारी गर्ने तरिका, र श्रोतालाई आकर्षित गर्ने प्रभावकारी भाषण कला उपायहरूबारे व्याख्या गर्दै व्यावसायिक र शैक्षिक जीवनमा उपयोगी प्रस्तुतीकरणका विभिन्न रणनीतिहरू सुनाएका थिए । सहभागीहरूले भाषण कलाको महत्व, प्रस्तुति, दृश्य सामाग्रीको प्रभावकारी प्रयोग, समय व्यवस्थापन, र स्पष्ट सन्देश सम्प्रेषणका विधिहरूबारे व्यावहारिक ज्ञान हासिल गरे।

कार्यक्रमको क्रममा सहभागीहरूले बिबिध जिज्ञासा राखेका थिए । सहजकर्ता श्रेष्ठले उनीहरूका प्रश्नहरूको उत्तर दिंदै भाषण कलाका थप उपयोगि टिप्स, आत्मबिश्वास र सकारात्मक सोच बढाउने उपाय र त्रुटिहरू सुधार गर्ने टेक्निक सुझाव दिए। उनले सार्वजनिक रुपमा बोल्नका लागि आत्मविश्वास, तयारी, र निरन्तर अभ्यासको आवश्यकता औंल्याउँदै, समयमै यी सीपहरू विकास गर्न सके व्यक्तिले जीवनमा प्रचुर फाइदा उठाउन सक्ने कुरामा जोड दिएका थिए । श्रेष्ठले के बोल्ने भन्दा पनि कसरी ? भन्ने महत्वपूर्ण कुरा रहेको बताउदै संसार प्रस्तुतिकरणमा अडिएको बताए ।

सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले पब्लिक स्पिकिङ र प्रस्तुतीकरण कला आफ्नो भविष्यको शैक्षिक र व्यावसायिक सफलताका लागि उपयोगी हुने बताए। सैनिक आवासीय महाविद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको शिक्षक रामबाबु घिमिरेले बताए । भविष्यमा पनि नेतृत्व विकास, सृजनात्मकता, र अन्य जीवन उपयोगी सीपमा केन्द्रित कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको महाविद्यालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।