आदर्श कपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक र तनहुँ खेल्ने


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर १९

पोखराको लेखनाथमा यहि मंसिर २२ गतेदेखि आदर्शक कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लव लेखनाथको आयोजनामा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ६ वर्षपछि हुन लागेको यो प्रतियोगिता आदर्श कपको २५ औं श्रृंखला हो । २०७५ सालमा २४ औं आदर्श कप भएपश्चात कोभिड–१९, मन्दीलगायतका कारणले हुन नसकेको अवस्थामा यस वर्षदेखि पुनः निरन्तरता पाएको हो ।

लेखनाथको भण्डारढीकस्थित लेखनाथ रंगशालामा हुने प्रतियोगितामा ८ टिमले भाग लिने जनाइएको छ । जसमा विभागीय टीमहरु नेपाल प्रहरीको गण्डकी प्रदेश टिम, सशस्त्र प्रहरीको गण्डकी मुख्यालय र नेपाल आर्मीको सिद्धिदल गणसहित कास्की–११, एन्फा तनहुँ, एन्फा गोरखा, एन्फा स्याङ्जा र आयोजक आदर्श युवा क्लवको सहभागिता रहने क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा मंसिर २२ गते आयोजक आदर्श युवा क्लव र एन्फा तनहुँ आमनेसामने हुने भएका छन् । मंसिर २३ गते त्रिभूवन आर्मीक्लवबिरुद्ध एपीएफ क्लव, २४ गते कास्की–११ बिरुद्ध एन्फा स्याङ्जा र २५ गते नेपाल पुलिस क्लवबिरुद्ध एन्फा गोरखा आमनेसामने हुने क्लवका अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा समूह–ए को सेमीफाइनल मंसिर २६ गते, समूह–बी को सेमीफाइनल मंसिर २७ गते हुनेछ भने फाइनल खेल मंसिर २८ गते हुने उनले जानकारी दिए ।

प्रतियोगिताको तयारी करीब पूरा भएको क्लवका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले बताए । रंगशाला सम्याउनेदेखि, प्याराफिट निर्माण गर्नेसम्मको काम सकिइसकेको उनको भनाई छ । ‘हामीले उद्घाटनकोपनि लगभग तयारी गरिसकेका छौं’–उनले भने ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सौर्य सिमेन्ट ईण्डष्ट्रिज, प्रायोजकमा व्यवसायी छत्रधर आत्रेय, सहप्रायोजकमा आदर्शक हार्डवेयर र उपप्रायोजकमा यार्साटेक प्रालि रहेको जनाइएको छ । प्रतियोगिताको उपाधि बिजेताले नगद ४ लाख २५ हजार ५ सय २५, उपबिजेताले २ लाख २५ हजार ५ सय २५ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवले जनाएको छ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाईपनि नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि सेमीफाइनलसम्म १०० र फाइनल खेलको १५० टिकटदर तोकेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।