पोखरा । हुमनाथ ढकाल स्मृति प्रतिष्ठान, शुक्लागण्डकी १ तनहुँको अयोजनामा बुधबार कास्कीको अन्नपूर्ण ९ तिखेढुङ्गामा स्थित श्री भगवती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई निशुल्क खेल पोसाक वितरण गरिएको छ ।
कोरियन नागरिक कु ह्युन किम र उनका साथीहरुको आर्थिक सहयोगमा प्रतिष्ठानले विद्यालयमा अध्ययनरत ११५ विद्यार्थी र १९ जना शिक्षकहरुलाई खेल पोसाक वितरण गरेको हो । कार्यक्रममा हाल विद्यालयमा भएका प्रत्येक शिक्षक र विद्यार्थीलाई एक सेट ट्रयाकसुट र एउटा टिसर्ट वितरण गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै केसीले प्रतिष्ठानका संस्थापकहरुले आफ्ना पितृहरुको सम्झनामा सप्ताह र पुराण लगाएको भन्दा पनि ठूलो पुण्यको काम गरेको भन्दै मुक्त कण्ठले यो सहयोगको प्रसंसा गरेका थिए । उनले अगाडि भने, “हामी यी साना बाबुनानीको मुहारमा खुसी र सुन्दर भविष्यको खोजी गरिरहेका छौँ । अब कुनैपनि बहानामा शैक्षिक प्रगति रोकिनु हुँदैन । आजको यो सुन्दर कार्यक्रमको उद्देश्य पनि यही हो । विहानको चिसोमा थरथर काम्दै आएको विद्यार्थीले कक्षामा उत्कृष्ट सिकाई नगर्न सक्छ भन्ने कुरा प्रतिष्ठानले महसुस गरी यो न्यानो पोषाक वितरण गरेको छ, जुन प्रसंसा योग्य छ ।”
कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक तीर्थराज ढकालले प्रतिष्ठानले विगत देखि बर्तमानसम्म शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हरतरहका कार्य गर्दै आएको र भविष्यमा समेत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने, “राज्यले एकसेट पुस्तक र दुइचार सय छात्रवृत्ति दिँदैमा पूर्ण निशुल्क शिक्षा दिएको भन्न मिल्दैन । हाम्रो समुदायमा अझैपनि झोला र कापी किन्न नसक्ने विद्यार्थीको संख्या उच्च छ ।
त्यसैले हामीले विपन्न बालबालिकालाई पूर्ण निशुल्क विद्यालय शिक्षा अभियान समेत सञ्चालन गर्दै विपन्न विद्यार्थीलाई आवश्यक सम्पूर्ण सहयोग गर्दै आइरहेका छौँ ।” प्रतिष्ठानले करिब एक महिना पहिले पनि कोरियन र अमेरिकन सहयोगदाताको आर्थिक सहयोगमा सोही विद्यालयमा अध्ययनरत दश जना जेहन्दार विद्यार्थीलाई एक एक वटा बाख्रा वितरण गरेको थियो ।
विशेष आमन्त्रित व्यक्तिको रुपमा वडा अध्यक्ष रमेश गुरुङले मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत र विद्यार्थी अस्मीता बि.क.ले धन्यबाद व्यक्त गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रेमनारायण ढकालको अध्यक्षता र शिक्षक कीर्तिराज ढकालको सञ्चालनमा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







