बेलायतमा तामाङ समुदायद्वारा सामूहिक ल्होसार आयोजना हुने


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८१ मा प्रकाशित




बेलायतमा रहेका तामाङ समुदायले यस वर्ष सोनाम ल्होसार सामूहिक रूपमा मनाउने तयारी गरेका छन्। जनवरी २५ मा लण्डनको ह्यारो लिजर सेन्टरमा तामाङ समुदायका पाँच संघ–संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्ने भएका छन्।

ल्हाम्हेंदो तामाङ समाज, तामाङ समाज युके, म्हेंदोमाया समाज युके, तामाङ घेदुङ रेडिंग, र ह्युल्बा केन्टको संयुक्त प्रयासमा पहिलो पटक सामूहिक सोनाम ल्होसार मनाउन लागिएको ल्होसार मूल आयोजक समारोह समिति, बेलायतका सदस्य तथा ल्हाम्हेंदो समाज युकेका महासचिब विशाल स्याङ्बो तामाङले बताए । यस कार्यक्रमले तामाङ समुदायबीचको एकता र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारीका लागि १०१ सदस्यीय मूल समारोह समिति गठन भइसकेको छ। समितिका संयोजक हरिसिंह वाइबा र सदस्य सचिव बम ब्लेन्थेन रहेका छन्। आर्थिक संयोजन दावा स्याङ्बोले सम्हाल्ने भएका छन्।

कार्यक्रम बिहान ११.३० बजे लामा गुरु कर्म वाङ्देलको नेतृत्वमा पूजा–पाठबाट सुरु हुनेछ। औपचारिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, र तामाङ परिकारको स्वादका साथै रातभर चल्ने सांगीतिक कार्यक्रममा इन्डियन आइडल विजेता प्रशान्त तामाङ, सेलो गायक चन्द्र कुमार दोङ, रोशन फ्युबा, गीतु लोप्चन, र ऋतु लामाको विशेष प्रस्तुति रहनेछ।

सांस्कृतिक कार्यक्रमले तामाङ समुदायको परम्परा, भेषभूषा, र परिकारलाई प्रवर्द्धन गर्नुका साथै समुदायभित्रको एकता बलियो बनाउने आयोजकहरूको विश्वास छ। कार्यक्रममा सबै समुदायलाई सहभागी भई तामाङ संस्कृतिको विविधता र समृद्धि नियाल्न आह्वान गरिएको छ।

सामूहिक ल्होसारले तामाङ समुदायको सांस्कृतिक पहिचान र एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ। “२५ जनवरी ह्यारो जाउँ, सोनाम ल्होसार रमाइलो गर्दै मनाउँ” भन्दै आयोजकहरूले कार्यक्रममा उपस्थित हुन महासचिब तामाङले निम्तो दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।