सूर्य दर्शन सहकारी प्रकरणमा जिवी, रवि, छविसहित ६३ प्रतिवादी, रविमाथि करीब २८ करोड गैरकानूनी रुपमा आर्जन गरेको आरोप

- रबिबाट ३ करोड ३७ लाख ६५ हजार बिगो मागदाबी


     एभरेस्ट आवाज    
     पौष ७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा, पुस ७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि करीब २८ करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेर दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालय कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्धा दर्ता गरेको हो । सरकारी वकीलको कार्यालयले लामिछाने पत्नी पौडेलबिरुद्धपनि मुद्दा दायर गरेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनीमाथि सम्पती शुद्धिकरणमापनि अनुसन्धान भएको थियो । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जिवी)बिरुद्ध शुक्रबार नै मुद्धा दर्ता भइसकेको छ । सो मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले पोखराको सूर्य दर्शन सहकारीबाट ३ करोड ३७ लाख ६५ हजार अपचलन गरेको भन्दै सोहि रकम बराबर बिगो दाबी गरिएको छ ।

त्यस्तै, सो मिडियाका तत्कालीन निर्देशक छविलाल जोशीमाथि ५ करोड २६ लाख ६५ हजार, दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ । पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

जिल्ला सरकारी वकीलको कार्यालयले रवि पत्नी निकितासहित अन्य ५ जनालाई सम्पती जफतका लागि प्रतिवादी बनाएको छ । त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बञ्जाडे जोशी, रोचक जोशी, राधा पछाईं र गीता पछाईं रहेका छन् । पद्मा जोशीकी श्रीमती हुन् भने रोचक छोरा हुन् । त्यस्तै, राधा लीला पछाईकी आमा हुन् भने गीता दिदी हुन् ।

उनीहरु कसुरमा संलग्न नभएपनि बिगो दाबी गरिएकाको नजिकको आफन्त भएकाले सम्पती जफतका लागि उनीहरुलाई प्रतिवादी बनाईएको जिल्ला सरकारी वकीलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिईन् । उनले भनिन्,‘उहाँहरुलाई दण्ड वा जरिवानाका लागि प्रतिवादी बनाइएको होईन, आरोपितहरुको आरोप प्रमाणित भएमा अभियोग अनुसारको सम्पती जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।’

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ६३ बिरुद्ध मुद्धा दायर गरिएको छ । पहिलो मुद्धामा शुक्रबार १९ जनाबिरुद्ध मुद्धा दायर भएकोमा आईतबार थप ४४ बिरुद्ध मुद्धा दायर भएको हो । कुल ६३ प्रतिवादी मध्ये ५० जना व्यक्ति, ८ कम्पनी र थप ५ जनाको सम्पती जफतका लागि मुद्धा दायर गरिएको हो ।

सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीसँग कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सरकारी वकीलको कार्यालयले दर्ता गरेको प्रतिवेदनमा रास्वपा सभापती रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लैजान आफ्नो संलग्नता रहेको भन्नेबारेमा ईन्कारी बयान दिएका छन् । उनले सहकारीको रकम मिडियामा ल्याउने कुरामा आफ्नो कुनैपनि संलग्नता नरहेको भन्दै सो रकम फिर्ता गर्नेबारेपनि आफ्नो जिम्मेवारी नभएको जिकीर गरेका छन् । उनले सहकारीबाट आफ्नो नाममा लिइएको १ करोडबारेपनि संसदीय समितिको वयान दिन जाँदामात्र थाहा पाएको बताएका छन् । उनले आफूले रकम लिएको भए आफूलाई सहकारीले ऋण फिर्ता वा व्याज तिर्नका लागि पत्र वा ताकेता गर्नुपर्ने भएपनि त्यस्तो पत्र वा ताकेता नगरेको उल्लेख गरेका छन् ।

गोर्खा मिडियामा सहकारीको रकम आएको कुनै प्रमाण वा दस्तावेज नरहेको दाबी गर्दै उनले वयानमा भनेका छन्,‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।’ उनले आफूलाई गितेन्द्रले गोर्खा मिडियामा लैजाँदा १५ प्रतिशत स्वेट सेयर, आकर्षक एडभान्स र तलब दिने विश्वास दिलाएको र सोहि अनुसार लिएको तर छाड्ने बेलामा स्वेट सेयर वापत पाएको सेयर निःशुल्क रुपमा एक पैसापनि नलिई जस्ताको तस्तै फिर्ता गरेकोपनि जिकीर गरेका छन् ।

अर्का प्रतिवादी पूर्व डिआईजी छविलाल जोशीले गोर्खा मिडियामा सहकारीको पैसा ल्याउने कार्यमा आफ्नो संलग्नता नरहेको ईन्कारी वयान दिएका छन् । सो रकम अध्यक्ष गितेन्द्रबाबु राईले ल्याएको तर कहाँबाट कसरी ल्याएको भन्नेबारेमा आफूलाई जानकारी नभएको उनको भनाई छ । वयानमा उनले भनेका छन्,‘पैसा कताबाट कसरी ल्यायो भन्नेबारेमा जिवी र रविलाई थाहा होला ।’ ल्याएको रकम भने गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने र कार्यकारी अध्यक्ष राईले खर्च गर्ने गरेको भन्दै खर्च गर्दापनि आफ्नो संलग्नता रहेको अस्वीकार गरेका छन् । वयानमा उनले भनेका छन्,‘गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य गरेका थिएनौं, बैकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अवस्था थियो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।