अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा उभियो कास्की


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८१ मा प्रकाशित




पोखरा, पुस १३

कास्की अनेरास्ववियू क्रान्तिकारीमा ३२ वर्षे हद तोक्नुपर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रको कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीमा कास्की ३२ वर्षे उमेर हद तोक्नुपर्ने पक्षमा उभिएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने विषयमा विवाद रहँदै आएको थियो । जसका कारण अनेरास्ववियूको सम्मेलन नेतृत्व चयन नगरी सकिएको थियो । उमेर हद तोक्दा सिनियर नेताहरु बाहिरिने स्थिति बनेपछि उनीहरु पक्षकाले उमेर हद लगाउने कि नलगाउने पक्षमा भईरहेको चुनाव भाँडेका थिए । त्यसपश्चात रोकिएको सो विवाद महिनौं बित्दासमेत नटुंगिएपछि माउ पार्टी नेकपा माओवादी केन्द्रको बैठकले पुनः ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा निर्वाचनमार्फत टुंगो लगाउन भनेको थियो । सोहि अनुसार शनिबार देशैभर जिल्ला जिल्लामा निर्वाचन भएको हो ।

कास्कीमापनि भएको उमेर हद सम्बन्धि निर्वाचनमा कुल ६८ मत खसेकोमा ५६ मत ३२ वर्षे उमेर हदको पक्षमा परेको अनेरास्ववियु क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष प्रविना अधिकारीले जानकारी दिईन् । त्यस्तै उमेर हद नलगाई खुल्ला छाडिनुपर्छ भन्नेमा १२ मत खसेको उनले बताईन् ।

कास्की ३२ वर्षे उमेर हदको पक्षमा उभिएपनि ७७ हत्तरै जिल्लाको परिणामले मात्रै उमेर हद लगाउने कि नलगाउने निर्णय गर्नेछ । जसका लागि देशैभर भएको निर्वाचनको मत परिणाम आईसक्नु पर्नेछ ।

उमेर हद सम्बन्धि विवाद सकिएपछि अखिल क्रान्तिकारीको नया नेतृत्वका लागि पुस १५ गते निर्वाचन हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।