पोखरेली ब्याण्ड कन्दराको ऐतिहासिक कन्सर्ट लन्डनको ओटुमा, २८ सय उपश्थित


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८१ मा प्रकाशित




लन्डन । पोखरेली ब्याण्ड कन्दराले शनिबार लन्डनको विश्वप्रसिद्ध इण्डिगो एट द ओटुमा ऐतिहासिक कन्सर्ट प्रस्तुत गरेको छ। गायक विवेक श्रेष्ठले नेपालबाट आएका वाद्यवादकहरूको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे। कन्दराले आफ्नो ब्याण्ड स्थापनाको ३२ वर्षको इतिहासमा यो ओटु सांझलाई ‘अविष्मरणीय’ भनेको छ र यसै स्टेजमा आफ्नो ३२ औं वार्षिकोत्सव पनि मनायो।

आयोजक मामाघर इन्टरटेन्मेन्टका अनुसार कन्सर्टमा झण्डै २८ सय दर्शक उपस्थित थिए।

सो अवसरमा गायक श्रेष्ठले झण्डै डेढ दर्जन नयां पुराना गीत गाए ।गायक श्रेष्ठले तगारोमा रुमाल, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, विदेशिनु लेखियो कर्मैमा हङकङ पोखरा, तिमी हाँसे हासिदिउंला रोए फकाउंला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, सांग्रीलाको लेक भरी फुलैफुलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा हिउं, चन्चले कान्छीको, कहाँ हिंडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भको दिन जस्ता गीत सुनाए । उनले हरेक गीतम गाउंदा दर्शकले वान्स मोर भनिरहेका थिए ।

गायक श्रेष्ठले गोपाल योन्जनको धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई समेत गाएर बेलायतका नेपालीलाई नेपाल फर्कन आग्रह गरे ।‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत कन्दराले लन्डनमा गरेको पहिलो विदेशस्थित कन्सर्ट हो ।

गायक स्वप्न सुमन पनि आफ्ना ब्याण्ड ‘द आस्टर्स’सँग एक घण्टाको प्रस्तुति दिए, जसमा उनले “वाचा भयो”, “आकाशैमा नौ लाखे तारा”, “जे छौ तिमी” जस्ता गीतहरू प्रस्तुत गरे।

कार्यक्रमको टाइटल स्पोन्सर व्यवसायी राज पाण्डेको राष्ट्रिय पोशाकघर यूके थियो भने मिडिया पार्टनरमा नेपालीलिंक र भिडियोरफोटोग्राफीमा के के फिल्म्स एण्ड मिडिया रहेका थिए। कार्यक्रमका मुख्य सहयोगी कान्ति गुरुङ श्रेष्ठ, दीपक खड्का, प्रतिमा जोशी, दीपक श्रेष्ठ लगायतले ठूलो योगदान दिएका थिए।

मामाघर इन्टरटेनमेन्ट लिमिटेडले यस वर्ष मात्रै स्थापना भएको हो र यसको सफलता युवाहरूलाई उत्साहित पार्ने विश्वास व्यक्त गरिएको छ। यस कन्सर्टको आयोजनामा सहयोग पुर्याएका सबैलाई आभार व्यक्त गर्दै विमल तिमिल्सेना, कम्पनीका निर्देशकले आगामी इभेन्टहरू अझ ‘ग्रयाण्ड’ बनाउने लक्ष्य राखेको बताए।

यो कन्सर्ट लन्डनमा नेपाली संगीत र संस्कृति प्रसार गर्ने एक ऐतिहासिक अवसर बन्यो, जहाँ युरोपका विभिन्न शहरबाट दर्शकहरु ओइरिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।