पोखरा, माघ ३
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अवस्था परिवर्तन भएन भन्नेप्रति कडा टिप्पणी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले अवस्था परिवर्तन भएन भन्नेहरु आँखा नदेख्नेहरु हुन् कि कान नसुन्ने हुन् भनेर टिप्पणी गरेका हुन् । कोहि मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,उनले भने,‘उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’ उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तिर्ण भएकोलाई जनताको अवस्था परिवर्तन भएको दृष्टान्तका रुपमा प्रस्तुत गरे । वि.स.२००४ सालमा दुई चार वटा स्कुल मात्र रहेकोमा अहिले हजारौं, लाखौं विद्यार्थी अध्ययन गर्ने र जताततै स्वास्थ्य उपचार गर्नसक्ने जनशक्ति उत्पादन भएको बताउँदै उनले अगाडि थपे,‘योचाहिं के भएको हो ? पोखरामा मेडिकल ईन्ष्टिच्यूट स्थापना हुनु र दुई ब्याच उत्तिर्ण भईसके । यो अवस्था परिवर्तन भएको होईन ? ।’
प्रधानमन्त्री ओलीले आफू काठमाडौंमा भएपनि देशभरीका जनताको समस्या समान रुपमा हेर्ने गरेको बताए । सबै ठाउँको विकासका लागि आफूले ध्यान दिइरहेको बताउँदै उनले भने,‘म काठमाडौं बसेपनि मुस्ताङ भुलेको छैन, पर्यटकीय गन्तव्यहरु भुलेकोछैन र बाटोघाटो भुलेको छैन ।’ उनले प्रविधिको प्रयोगमार्फत शिक्षालाई आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गरे ।
विश्वविद्यालयका सहकुलपती एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कछुवा गतिमा जनशक्ति उत्पादन भइरहेकोप्रति चिन्ता व्यक्त गरे । त्यसमापनि राज्य र परिवारले ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्ति विदेशिनु झन् विडम्वना भएको उनको भनाई थियो । हाम्रो उत्पादन विदेशिएको छ,उनले अगाडि भने,‘राज्य र परिवारले ठूलो लगानी गरेर उत्पादन गरेको जनशक्ति विदेशिनु राम्रो होईन । जनशक्ति उत्पादन हुने तर स्वदेशमा सेवा नगरी विदेशिनु विडम्वना हो ।’ उनले यस्ता खालका समस्यामा सुधार ल्याउन राज्यले के गर्नुपर्ने हो त्यो गर्न तयार रहेको र यसमा सबैका साथ आवश्यक रहेको उल्लेख गरे ।
कारोलिनस्का ईन्ष्टिच्यूट अफ स्कटहोम, स्वीडेनका प्राध्यापक माग्रुस वेस्ग्रेनले नेपालमा पछिल्लो क्रममा दक्ष जनशक्ति उत्पादन भइरहेको भन्दै खुशी व्यक्त गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो दीक्षान्त समारोहमा ३८ जना दीक्षित भए । उनीहरुलाई कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गराएका थिए ।
प्रतिष्ठानका उपकुलपती डुकबहादुर क्षेत्रीले ५० शैयाको आकस्मिक विभाग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए । विहीबारै प्रधानमन्त्रीले सो विभाग रहने नव निर्मित भवनको उद्घाटन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा…





