सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ छ : गृहमन्त्री लेखक


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८१ मा प्रकाशित




माघ ७ मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताए ।

उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानविन गरी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्बल पक्ष पहिचान गरी राजनीतिकदलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।