पोखरामा ‘घर घरमा प्रहरी’ अभियान शुरु


     एभरेस्ट आवाज    
     माघ १४ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १४

पोखरामा ‘घर घरमा प्रहरी’ अभियान सञ्चालन गरिएको छ । वडा प्रहरी कार्यालय पोखरा–६ बैदामले वडाबासीमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न यो अभियान सञ्चालन गरेको हो । पर्यटकीय केन्द्र लेकसाईड क्षेत्रमा सञ्चालन गरिएको यो अभियानको कास्कीका प्रहरी प्रहरी प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलीयाले शुभारम्भको घोषणा गरे ।

अभियान अन्तर्गत प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–६ का सबै वडाबासीको घर घरमा पुगेर प्रहरीको स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । जुन स्क्यान गरेर परिवारका सदस्य वा पर्यटकले प्रहरीमा आफूलाई परेको समस्या तत्काल जानकारी गराउन वा गुनासो टिपाउन सक्ने वडा प्रहरी कार्यालय बैदामा ईञ्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए । पोखरा–६ बैदाममा ४९ हजार ९ सय ४६ घर परिवार रहेको र ती सबै घरमा दुई महिना भित्र स्टिकर टाँसिसक्ने बताउँदै उनले भने,‘जुन स्क्यान गरेर वडाबासीले हामीलाई आफ्नो समस्या र गुनासो राख्न सक्छन् ।’ उनले समस्या वा गुनासो आएमा तत्काल समाधानका लागि छुट्टै युनिट खटाइनेपनि उल्लेख गरे ।

घर घरमा प्रहरी’ अभियान घोषणा कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले पोखरा–बैदामबाट शुरु भएको यो अभियान भविष्यमा कास्की जिल्लाभर सञ्चालन गरिने बताए । बैदाम प्रहरीको सकारात्मक कदम यहाँबाट शुरु गरिएपनि जिल्लाभर पु¥याइनेछ,उनले भने,‘घरदैलो गर्दै कास्कीबासीको घरघरमा प्रहरी पुगेपछि यसले प्रहरीलाई हेर्ने दृष्टिकोणपनि थप सकारात्मक बन्नेछ, अनि शान्ति सुरक्षापनि कायम हुनेछ ।’

एसपी ओलीयाले अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउनपनि भूमिका खेल्ने बताए । ‘नागरिकका प्रहरीककै लागि हो । प्रहरी नागरिकको साथी हो भन्ने बुझाउनपनि यसले सघाउँछ’–उनले भने । उनले प्रहरीको सकृयताले कास्कीमा लागुऔषध नियन्त्रण प्रभावकारी बनेको बताए । तर साइबर अपराध, बैंकिङ कसुरलगायतका अपराध भने बढिरहेको भन्दै यसमा नागरिक आफै सचेत हुन जरुरी रहेको औंल्याए । उने भ्रष्टाचारमा शून्य सहनशिलता अप्नाइएको दाबी गरे । आफूले कसैबाट एक रुपैयाँपनि नलिएको दाबीका साथ चुनौति दिदै भने,‘मैले कसैसँग एक रुपैयाँपनि लिएको छैन । मेरो मातहतका कुनैपनि प्रहरीले कहिं एक रुपैयाँ लिएको छ भनेपनि मलाई भन्नूस, म त्यसलाई कारवाही गर्छु ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अभियान शान्ति सुरक्षा कायम गर्न कोशेढुंगाा सावित हुने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसाय प्रवद्र्धन, शान्ति सुरक्षा तथा नागरिकको अमनचयन कायम गर्न गरिने जुनसुकै अभियानमा आफूहरुको सहयोग रहने बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन बैदाम प्रहरीले थालेको अभियान सराहनीय रहेको बताए । केहि प्रहरी अधिकृतले पोखरामा आएर व्यवसायी र नागरिकलाई धम्की दिने र आतंकित बनाउने गरेको गुनासो गर्दै उनले भने,‘कोहिचाहिं कहिले आउनु हुन्छ र कहिले जानु भयो भन्नेसमेत थाहा हुँदैन । तर कसैले भने यस्तै उदाहरणीय कार्य गर्नुहुन्छ र पछिसम्म सम्झिरहने बन्नुहुन्छ ।’ उनले यसका लागि संघको तर्फबाट १० हजार स्टिकर प्रदान गर्ने घोषणा गरे ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका उपाध्यक्ष वसन्त गौतमलेपनि अभियान सकारात्मक रहेको भन्दै १० हजार स्टिकर प्रदान गर्ने घोषणा गरे ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले अपराध नियन्त्रणमा अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनलेपनि ट्याक्सी सेवा प्रालिको तर्फबाट ५ हजार स्टिकर प्रदान गर्ने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष भीमप्रसाद पराजुलीले श्रोत साधनको अभावमा प्रहरीले सेवा दिन नसकेको भन्ने परिस्थिति नआउनेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

होटल प्रतिनिधि समाज पोखराका अध्यक्ष माधव लम्सालले यस्तो अभियान देशैभर सञ्चालन गरिनुपर्ने भन्दै यसका लागि तत्काल १० हजार स्टिकर दिने घोषणा गरे । उनले देशैभर सञ्चालन गरे आगामी दिनमा थप १० हजार स्टिकर दिने बताए ।

लेकसाईड मदिरा व्यवसायी समितिका लक्ष्म देवकोटाले लेकसाईडमा घटना घट्नै नदिन अभियान कामयावी बन्ने विश्वास व्यक्त गरे । उनलेपनि अभियान जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।