माघ १६ पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे ।
नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।” उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे । उनले भने, “नेपाली जनतालाई सुखी र खुसी बनाउन चाहन्छौं। राज्यले त्यहीअनुसार काम गरिरहेको छ ।”
राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए ।
नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो । उनले भने “प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका सहिदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।” राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति…







