पोखरा, माघ २७
सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा–९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार आयोजना गरेको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा दर्शक भित्राउँदै सम्पन्न भएको हो ।
नब्बेको दशकमा ब्याण्डहरुको राजधानी रहेको पोखराको सांगीतिक विरासत फर्काउने उद्देश्यले आयोजित कार्यक्रमका लागि गाउँ, टोलबाट दर्शक ओईरिएका थिए । कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुती, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य तथा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहेर गरिएको कार्यक्रममा ३० हजार बढी दर्शक सहभागी भएको अनुमान गरिएको छ । कार्यक्रम हेर्न युवा, युवतीदेखि बृद्धबृद्धासम्म, अनि महिलादेखि केटाकेटीसम्म ठेलमठेल गर्दै पुगेका थिए ।
साँझ ५ः३० बजेदेखि शुरु हुने भनिएको कार्यक्रम केहि ढिला गरेर शुरु भएको थियो । तोकिएको समय भन्दा झण्डै डेढ घण्टा ढिलो शुरु हुँदासमेत दर्शक धैर्यतापूर्वक बसेका थिए । भव्य स्टेज, एसके साउण्डको गज्जबको साउण्ड, जेनेसिसकाे डिजाइन देखेर मख्ख परेका दर्शक यतिसम्म शान्त र सौम्य देखिए कि सांगीतिक विरासत फर्काउन उनीहरु जस्तोसुकै त्याग गर्नपनि तयार छन् । करीब ४ घण्टामा ७ वटा व्याण्ड गुञ्जिदा राती ११ बज्दासमेत उनीहरु वान्स मोर, वान्स मोर भन्दै कलाकारलाई थप गीत गाउन प्रेरित गरिरहेका थिए । ७ वटै व्याण्डका हिट हिट गीतले पोखराको चिसो रात गर्माएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत र नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले क्यासेट प्लेयर अन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसलगत्तै भेगाबोण्ड व्याण्डका पोखरेली लिजेण्ड सिंगर श्यामसुङ तामाङले ‘यो जिन्दगानी’ गाउँदा दर्शक पहिलो गीतमै वान्समोर भन्न थाले । दर्शकको अगाडि उनकोपनि के लाग्थ्यो र ? उनलेपनि दर्शकको माग अनुसार सोहि गीत दोहो¥याए र ‘उकाली चढी’ गीत गाएर स्टेजबाट ओर्लिए ।

त्यसपछि स्टेजमा उक्लिएका देउराली व्याण्ड (शान्त बज्राचार्य)ले शुरुमै लुकीचोरी गीत गाउँदा उनीसँगै दर्शक झुमे भने ढुंगे साँघुको मेलामा, सररर हावा गीत गुञ्जाउँदा दर्शक थप रोमाञ्चक बने ।

तेश्रो नम्बरमा स्टेज चढेका ब्रोसिस व्याण्ड (प्रकाश राना)ले चाईना कम्पनी र जादू तिम्रो नजरले गीत गाउँदा दर्शक छमछमी नाच्न थालिसकेका थिए ।

त्यसपछि मध्याह्न व्याण्ड (कर्णदासले जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत गाउँदा दर्शक ९० को दशकको आफ्नो विगत सम्झिएर गुनगुनाउन थाले ।

पाचौं नम्बरमा स्टेज चढेका लेकाली व्याण्ड (हर्कराज गुरुङ र नवीन गुरुङ) ले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर अनि पहिलो भेटमा गीत गुञ्जाउँदा दर्शक आफू हुर्किएको समयमा फर्किदै नाच्न थाले ।


लोक लयलाई टिपेर ¥याप र फङ्की शैलीमा ढालेर दर्शकको मन जितेको डि–मर्चा (भाष्करध्वज श्रेष्ठ) स्टेज चढ्नुअघि नै दर्शकको हुटिङ आउन थालिसकेको थियो । कैलाशैमा शिवजीको बस्ती छ बोलको गीत गाउँदा उनलाई दर्शकले शंख ध्वनी बजाएर साथ र सम्मान दिएका थिए । त्यसपछि तारा खस्यौली गीत गाउँदा मोवाइलको लाईट आकाश तिर बालेर दर्शकको साथ पाएको डिमर्चाले झ्याम्मै चौतारी र झ्याम्म, झ्याम्म गाउँदा वान्स मोरको माग बारम्बार गुञ्जिरह्यो । त्यसमा उनैले ल्याएको लाखे धुन गुञ्जिदा दर्शकको अपार माया पाएको थियो ।

सबैभन्दा अन्तिममा स्टेज चढेका कन्दरा (विवेक श्रेष्ठ)ले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउँदा रातीको ११ बजिसकेको थियो । तर दर्शक कार्यक्रम स्थल छाड्न मानिरहेका थिएनन्, बरु वान्स मोर, वान्स मोर भन्दै हुटिङ गरिरहे । त्यसपछि कन्दराले प्रहरीको आग्रह देखाएर स्टेजबाट झरेर दर्शकसँगै संगीत बिना नै गीत गाउँदै उनीहरुसँगै केहिबेर झुमेपछि कार्यक्रम औपचारिक रुपमा समापन भयो ।

नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन गरिएको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । उनले कलाकार, दर्शक र सहयोगी सबैलाई धन्यवादसमेत दिएका छन् ।
व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । उनले भने,‘यो न हिजो भयो, न भोलि नै सजिलै सम्भव छ । यो ईतिहास रच्न सफल भएका छौं ।’
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्न कार्यक्रम गरिएको प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले बताए । पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिन सफल भइएको छ, उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्न, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै अहिले देखिएको निराशाको निवारण र आशाको धुन सञ्चार गर्न सफल भएका छौं ।’

पोखरा सांगीतिक कलाकार संघका सचिव तथा डिमर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले ब्याक टु नाईन्टिज गर्न प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव लिएर गण्डकी प्रज्ञा प्रतिष्ठानमा पुग्दा प्रतिष्ठानका उपकुलपती गोरे गुरुङले आफूले गरेको परिकल्पनासँग मिलेको भन्दै यसलाई साकार बनाउन सहकार्य गरौं भनेपछि प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति बनाएर कार्यक्रम गरिएको हो । कार्यक्रमको ईभेन्ट म्यानेजमेन्ट जेनेसिस प्रोडक्सनले गरेको हो भने मिडिया पार्टनर एभरेस्ट एफएम रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







