पर्वतमा ‘विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान’


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८१ मा प्रकाशित




पर्वत । पर्वतमा जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।

जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिए ।

“अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उनले भने ।

गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताए ।

आर्थिक वर्ष २०८१÷८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।