शिक्षक–विद्यार्थी सम्मान सहित शिक्षक संगठनको छैटौँ गाउँपरिषद् सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको छैटौँ गाउँ परिषद् बैठक शनिबार वातावरणीय आमा समुह, अन्नपूर्ण ३, लक्ष्मी देउरालीको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै यस अभियानमा साथ दिन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरे ।

२०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा प्रथम, गण्डकी प्रदेशमा तेस्रो र नेपालभरमा पन्ध्रौँ स्थानमा परेको बताउँदै उनले आगामी वर्ष सो भन्दा माथि पुग्नैपर्ने र त्यसका लागि पालिकाको शिक्षामा सुधार गर्नैपर्ने बताए । उनले अगाडि भने, “यसवर्ष पालिका भित्र सञ्चालित हरेक विद्यालयका हरेक कक्षामा कम्तिमा ७० प्रतिशत नतिजा ल्याउने भनेर हामीले योजना बनाएका छौँ । हामीले कुन विद्यालयमा के लगानी गर्नुपर्ने हो ? सुझाब दिनुहोस्, हामी तयार छौँ । संगठनका साथीहरु भएको विद्यालय अब्बल बनाएर देखाउँछौँ भनेर तपाईँहरु पनि यो अभियानमा हातेमालो गर्नुभएको छ, म अत्यन्त खुसी छु ।” उनले घोषणापत्र केवल देखाउनको लागि बनाइएको नभई घोषणापत्र अनुसारका काम गर्न आफुहरु लागि परेको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, कास्कीका अध्यक्ष तिर्थराज ढकालले सांगठनिक प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत बलराम भुगाईँ, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव दामोदर तिमिल्सिना, शिक्षा समिति अन्नपूर्णकी सदस्य कमला केसी, संगठनका अन्नपूर्ण इन्चार्ज माधव पहारी, भुमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक तोरणबहादुर केसी, संगठनका पोखरा महानगर कमिटी सचिव नेपालप्रकाश अधिकारी, नेकपा एमाले जिल्ला समिति सदस्य महेश्वर पौडेल र अन्नपूर्ण कमिटी अध्यक्ष चुडामणी अधिकारी लगायतले बोलेका थिए ।

शिक्षक सेवा अयोगको परीक्षा उत्र्तिण गरी माध्यमिक तहको नियुक्ति सहित अन्नपूर्ण गाउँपालिकामा पदस्थापन भएका नवनियुक्त शिक्षक बसन्त चुँदाली, २०८० को एसईई परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सवोत्कृष्ट ३.८७ जिपिए ल्याई उर्तिण हुन सफल सिर्जना सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी प्रविण कुँवर र यसैवर्ष सेवा निवृत्त शिक्षक माधवप्रसाद पौडेललाई सम्मानित गरिएको उक्त बैठकले सचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अध्यक्षद्वारा प्रस्तुत भावि योजनाहरु पारित गरेको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका अध्यक्ष हरि भण्डारीको अध्यक्षता, सचिब किर्तीराज ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष हरि केसीले स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।