सरकार फेर्ने पक्षमा लाग्दैनौँ : अध्यक्ष प्रचण्ड


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०८१ मा प्रकाशित




फागुन १२ झापा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन् ।

पार्टीले आज कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे । “सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उनले भने, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।”

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए ।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए । उनले भने, “जुनबेला हामीले उनीहरुसँग सहकार्य ग–यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए । अध्यक्ष प्रचण्डले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गरे । कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।