अन्नपूर्ण क्लिनिकल प्रालिले शुरु गर्यो शुलभ फार्मेसी सेवा


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०८१ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले सुलभ फार्मेसी सेवापनि सुरु गरेको छ । ६ वर्ष अघिदेखि सञ्चालनमा आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन फार्मेसी सेवा सञ्चालनमा ल्याएको हो । यस्तो खालको फार्मेसी नेपालमै पहिलो पटक स्थापना भएको प्रालिको दाबी छ ।

फार्मेसीको शुक्रबार पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा उद्घाटन गरे ।

अन्नपूर्ण क्लिनिकलमा प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको शाखासहित भिडियो एक्सरे, ओपिडी, मुटुको भिडियो एक्सरे, सामान्य शल्यक्रिया लगायतका सेवा उपलब्ध छन् । बाँझोपनको समस्या सामाधानका निम्ति भारतको प्रतिष्ठित चेन इन्दिरा आइभिएफको काठमाडौं शाखासँग सहकार्य गरी यहाँ परामर्शसमेत दिने गरिएको छ । अन्नपूर्णकी सञ्चालक संगीता बरालले उपभोक्ताको हितका लागि सुरु गरिएको सेवाबाट लाभ लिन आग्रह गरिन् ।

क्लिनिकलमा निशुल्क तीन महिने संगिनी सुई लगाउने सेवापनि दिईन थालेको प्रालिले जनाएको छ । सो सेवाको शुक्रबार नै शुभारम्भ गरिएको हो । पोखरा १३ को सहरी स्वास्थ्य केन्द्र तथा महानगरको स्वास्थ्य महाशाखाको समन्वय यो सेवा सुरु गरिएको सञ्चालक संगीता बरालले जानकारी दिईन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा १२ का अध्यक्ष बास्तोलाले व्यवसायसँगै सर्वसाधारणलाई सेवा दिने हेतुले यस खालका प्रयास हुनु सराहनीय भएको बताए । उनले भने, ‘यस खालका काम राज्यले गर्नुपर्ने हो । निजी क्षेत्रबाट सुलभ रुपमा सर्वसाधारणले औषधी पाउँदा उनीहरुको स्वास्थ्यमा पहुँच बढ्छ ।’ पोखरा–१३, मियाँपाटन चोकमा रहेको अन्नपूर्ण क्लिनिकलमा विशेषगरी पोखरा महानगरका वडा नम्बर १०, १२ र १३ का सर्वसाधारण सेवा लिन पुग्ने गरेका छन् ।

अन्नपूर्णका सञ्चालक हिरामणि न्यौपानेले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र नागरिकको कर्तव्य बोध गरी यस खालको सेवा सुरु गरेको बताए । उनले भने, ‘नाफामुखी भन्दा सेवामुखी भएर काम गरौं भनी नयाँ योजना ल्याएका छौँ । होलसेल मूल्यमै औषधी पाउँदा उपभोक्ताको पहुँच उपचारमा बढ्नुका साथै आर्थिक रुपमा पनि उनीहरुलाई फाइदा हुन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।