कोटिहोमको नाममा पोखरामा बिजय कृष्णमूर्तीको ताण्डव

- धर्मगुरु गरिछाड्ने, महानगर कुनै हालतमा नदिने


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०८१ मा प्रकाशित




फागुन २४ पोखरा । शान्त क्षेत्र पोखरा केहि दिनदेखि अशान्त बनेको छ । गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर बिजय कृष्णमूर्ती भनेर चिनिने बिजय भण्डारीले ताण्डव देखाएपछि शान्त पोखरा अशान्त बन्न थालेको हो । कोटिहोम आयोजक मावन सेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच शुरुमा देखिएको सामान्य विवाद बढ्दै गएर झडपमा परिणत हुन थालेको छ । पोखरा–६ लेकसाईडस्थित वाराहीघाटमा बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म डेढ महिना लामो समयसम्म हुने कोटिहोमका लागि आयोजक मानव सेवा फाउण्डेसनले समिधा बनाउन भन्दै पोखरा–६ र पोखरा–१४ का विभिन्न ठाउँका बर, पिपल र समीका रुख मुठारेपछि आयोजक र महानगरबीच विवाद बढेको थियो । समिधाका नाममा बर, पिपल र समीका रुख काटेर चौतारी नै मासेको भन्दै महानगरले समिधाका लागि काटिएको काठदाउरा जफत गरेपछि उनीहरुबीच थप दुरी बढ्यो ।

त्यसपछि महानगरले हाल तोकिएको ठाउँमा कोटिहोम गर्न नदिने निर्णय ग¥यो । आयोजकले कोटिहोमका लागि आयोजकले अनुमतीपनि नलिएको र कोटिहोम गर्दा प्रदूषणपनि बढ्ने भन्दै महानगरले कोटिहोम गर्न नदिने निर्णय निर्णय गरेको हो । त्यसबाट बिच्किएका बिजय कुष्णमूर्तीले कुनैपनि हालतमा तोकिएकै ठाउँमा कोटिहोम गरेरै छाड्ने उद्घोष गरे । ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन । कसैको डर, धाक र कसैको शक्तिले बालयोगेश्वर पोखरा छोडेर जानेवाला छैन’–उनले भनेका थिए । त्यसबेला उनले आक्रोसित मुद्रामा चेतावनीयुक्त भाषा प्रयोग गर्दै भनेका थिए,‘धर्मको नाममा अधर्म गर्नपनि तयार छु ।’

नभन्दै शुक्रबार कोटिहोम क्षेत्र रणमैदान बन्यो । कोटिहोमका लागि भन्दै भूमिपुजन भइरहँदा महानगर प्रहरी रोक्नका लागि पुगेका थिए । तर हातहतियारसहित पूर्व तयारीमा बसेका कोटिहोम आयोजक पक्षले अटेर गरेपछि महानगर प्रहरीले हस्तक्षेपको प्रयास ग¥यो । त्यसपछि दुई पक्षबीच कुटाकुटहुँदा ११ जना नगर प्रहरी र १५ जना आयोजक पक्षका घाईते भएका छन् ।

यो विवाद यत्तिमै टुंगिने देखिएको छैन । घटनापछि दुबै पक्षले संयमता अप्नाउनुका सट्टा उत्तेजित अभिव्यक्ति दिइरहेका छन् । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले लेकसाईडस्थित बाराहीघाटमा महानगरले कुनैपनि हालतमा कोटिहोम हुन नदिने बताए । उनले भने,‘महानगरसँग अनुमती नलिइ कोटिहोम गर्न लागिएकाले रोक्न खोजेका हौं । त्यो ठाउँ कोटिहोमका लागि उपयुक्त होईन । त्यसैले महानगरले त्यहाँ कोटिहोम गर्न नदिने निर्णय गरेको र त्यो निर्णय लागु गरेरै छाडिन्छ ।’

तर आयोजक बिजय कृष्णमूर्तीले भने कुनैपनि हालतमा कोटिहोम गरेरै छाड्ने अडान दोहो¥याएका छन् । अदालतले कोटिहोम गर्न दिनू भनेर आदेश गरेकाले आफूहरुले कोटिहोम गर्न पाउनुपर्ने उनको जिकीर छ । आयोजकलाई विश्व हिन्दू महासंघको साथ छ । विश्व हिन्दू महासंघले शनिबार पत्रकार सम्मेलन गरेर लेकसाईडको बाराहीघाटमा कुनैपनि हालतमा कोटिहोम गरेरै छाड्ने उद्घोष गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दू महासंघका बरिष्ठ उपाध्यक्ष शंकर खरालले भने,‘कोटिहोम गरेरै छाड्छौं । त्यसका लागि अधर्म गर्नु परेपनि गर्न तयार छौं ।’ खरालले महानगर प्रवक्ता मोतीलाल तिमिल्सिनालाई कोटिहोमको विरोध गरिरहे ‘उडाईदिने’धम्कीसमेत दिएका छन् । तिमिल्सिनालाई खरालले फोनमा दिएको अडियो भ्वाईसमा भनिएको छ,‘कसरी उडाउन पर्छ, कसरी ठाउँमा पु¥याउनु पर्छ भन्ने हामीलाई पनि थाहा छ । समय सधैँ एकनास रहँदैन, तपाईंहरूले बदमासी गरेको चित्त बुझेको छैन । बसेर सल्लाह गर्ने भए गरौँ । होइन भने कसरी उडाउनु पर्छ, के गर्नुपर्छ हामीलाईपनि थाहा छ ।’

कोटिहोम आयोजक मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक बिजय कृष्णमूर्तीले महानगरको अवरोधका बाबजुद कोटिहोम गरिछाड्ने उद्घोष गर्नुको अन्तर्यको खोजी भइरहेको छ । त्यसबारे प्रश्न गर्दा आयोजक टकटकिने गरेको छ । तर श्रोत भने उनीहरुलाई नेपाल ट्रष्ट, नेपाली सेना, प्रहरी र न्यायालयको ढाडस रहेको बताउँछ । केहिले पूर्व राजा ज्ञानेन्द्रको डिजाइनमा हो भनेपनि त्यसमा आंशिक सत्यता मात्र रहेको विश्व हिन्दू महासंघका पदाधिकारीहरु जिकीर गर्छन् । पूर्व राजा ज्ञानेन्द्र करीब एक महिनादेखि पोखरामा बसेर विभिन्न गतिविधिहरु गर्नू, राप्रपाले यहिबेला पोखरा केन्द्रीत कार्यक्रमहरु गर्नू, दुर्गा प्रसाईंको समूहले यहिबेला पटक÷पटक पोखरामा कार्यक्रम गरिरहँदा कोटिहोम आयोजक महानगरको अवरोधका बाबजुद कोटिहोम गर्न उद्देलित हुनुबीच कनेक्सन छ भन्ने आशंका उनीहरुको छ । श्रोत भन्छ,‘महानगरको अनुमती बिना नेपाल ट्रष्टले कोटिहोम गर्न आयोजकलाई जग्गा भाडामा दिनू, भुमि पूजन भइरहँदा दुईपक्षबीच भएको झडपमा प्रहरी, प्रशासन मुकदर्शक बन्नूले यसको पुष्टि गर्छ ।’

कोटिहोम आयोजक निकट श्रोतले भने पूर्व राजा ज्ञानेन्द्र र कोटिहोम आयोजकबीच कुनै कनेक्सन नरहेको दाबी गरे । बरु प्रहरी, सेना र न्यायालयमा भने बिजय कृष्णमूर्तीले सेटिङ गरेकाले पोखरामा कोटिहोम भएरै छाड्ने उनको दाबी छ । महानगर प्रहरी कुटिदा प्रहरी प्रशासन किन मुकदर्शक बन्यो त ? ती व्यक्तिले भने,‘त्यसैले अदालतलेपनि कोटिहोमको पक्षमा फैसला गर्छ, प्रहरी र प्रशासनलेपनि सघाउँछ र कोटिहोम भएरै छाड्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।