पीएन क्याम्पसको स्ववियु चुनावमा विद्यार्थीमा देखिएन उत्साह

- कुल मतदाताको ३९ प्रतिशतले मात्रै गरे मतदान


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८१ मा प्रकाशित




पोखरा, चैत १०

पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा मतदाता विद्यार्थीमा उत्साह देखिएन । देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पीएन क्याम्पसको स्ववियु चुनावमा झण्डै एक तिहाई विद्यार्थीले मात्र मतदान गरेका हुन् । यसअघि मतदानमा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि हुने गरेपनि यस वर्ष कुल मतदाताको ३९.१२ प्रतिशतले मात्रै मताधिकार प्रयोग गरेको निर्वाचन समितिले जनाएको छ ।

पृथ्वीनारायण क्याम्पसमा कुल ९ हजार २ सय ७० जना विद्यार्थी रहेका छन् । जसमध्ये १ हजार ८ सय ६६ जनाले मतदानका लागि परिचय पत्र (कार्ड) नै लगेका थिएनन् । जसका कारण यस वर्षको पीएन क्याम्पसको स्ववियु चुनावमा ७ हजार ४ सय ४ जना मात्रै मतदाता रहेका थिए ।

तर आईतबार भएको स्ववियु चुनावमा २ हजार ८ सय ९७ जनाले मात्रै मतदान गरेको पिएन क्याम्पस प्रमुख हरिप्रसाद पाठकले जानकारी दिए । झरेको कुल मतदाताको ३९.१२ प्रतिशत हो । तर कुल विद्यार्थीको झरेको मत मात्रै हेर्ने हो भनेचाहिं ३१.२५ प्रतिशत मात्र हो ।

चैत ५ गते तोकिएको चुनाव पीएनमा आईतबार भएको हो । सो दिन निर्वाचन समितिको चरम लापरवाहीका कारण प्रत्यक्षतर्फको मतपत्रमा अखिल छैठौंको रेजा लगाउने ठाउँ (बक्स) नहुँदा स्थगित भएको थियो ।

मतदाता विद्यार्थी उत्साह नदेखिएका कारण परिणाममा कस्तो असर पर्छ भन्ने आंकलन गर्न कठीन भएको छ । निर्धारित मितिमा चुनाव नहुनु, चुनावप्रति विद्यार्थीको चासो कमहुँदै जानु, राजनीतिक वितृष्णालगायतका कारण मतदाता कम भएको हुनसक्ने अनुमान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।