कुलमानलाई पदमुक्त गर्ने निर्णयप्रति माओवादीका प्रदेशसभा सदस्य जुग्जाली र भण्डारीको आपत्ति

- कालो चश्मा लगाएर रोष्टममै उभिएर जनाए बिरोध


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १२

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति गण्डकी प्रदेशका माओवादी सांसदहरुले विरोध जनाएका छन् । म्याग्दीबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई जना प्रदेश सभा सदस्यहरु हरि भण्डारी र रेशम जुग्जालीले गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा कुलमान हटाउने सरकारको निर्णयको विरोध जनाएका हुन् । जुग्जालीले बैठकको शून्य समयमा र भण्डारीले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकको छलफलका क्रममा विरोध जनाएका थिए ।

उज्यालो नेपालका नायक कुलमानलाई हटाएर सरकारले सबै कर्मचारीलाई अपमान गरेको उनीहरुको आरोप छ । बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद जुग्जालीले लोडसेडिङ अन्त्यका लागि ब्यबस्थापकीय भूमिका निर्वाह गरेर देशलाई लोडसेडिङमुक्त बनाउने कुलमानलाई सरकारले बिचौलियाको ईशारामा हटाएको आरोप लगाए । चार महिनापछि पदावधी सकिएर आफै घर जान लागेका कर्मचारीलाई पदमुक्त गरेर सरकारले बहादुर देखाउन खोजेको छ,उनले भने,‘पहिलेदेखि नै सरकार बिचौलियाको इशारामा सरकार चलेको आरोप लाग्दै आएको छ । कुलमान हटाउने निर्णयले त्यहि प्रमाणित गरेको छ ।’

अर्का माओवादी सांसद हरि भण्डारीले कालो चस्मा लगाएर रोष्ट्रममै उभिएर कुलमान हटाउने निर्णयको विरोध जनाए । गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको छलफलमा भाग लिदै उनले कुलमानलाई हटाएर बिचौलियालाई पोस्ने काम सरकारबाट भएको आरोप लगाए । केन्द्रदेखि प्रदेशसम्म कांग्रेस–एमालेको दुई तिहाई सरकार छ,उनले भने,‘यो सरकारले कुलमानलाई हटाएर जनताको भावनामाथि खेलवाड गरेको छ । बिचौलिया र माफियाको इसारामा कतै फेरि यो सरकारले जनतालाई मैनबत्ति र टुकीकै सहारा लिनुपर्ने अवस्थातिर फर्काउन त चाहिरहेको छैन भन्ने प्रश्न जनतामा उब्जिएको छ ।’ प्रधानमन्त्रीलाई आफन्त बाहिर राखेर कुलमान कुर्सीमा बसेको मन नपरेको, बिचौलियाहरुलाई जनता विजुलीको उज्यालोमा बसिरहेको र बर्खास्त पर्ने बेलासम्म पनि चेपाङ बस्तीमा बिजुली बालेर खुसीको दियो जगाइरहेका कुलमान मन नपरेका कारण बर्खास्त गरिएको उनको आरोप छ । यस्तै रबैया रहिरहे गण्डकीको जलश्रोतपनि बिचौलियाले कब्जा जमाउनसक्ने भन्दै उनले अगाडि थपे,‘सरकारको रबैयाका कारण प्रदेशसभाले बनाउन खोजेको गण्डकीको विद्युत विकास पनि गलत मान्छेहरुको हातमा पुगेर पहिलेजस्तै झोलामा खोला बोकेर हिँड्नेहरुकै हालीमुहाली र मोलमोलाइ हुने, सरकारको अधिकारमाथि जलमाफियाहरुले कब्जा जमाउने र प्रदेश सरकारले अनुमति दिने जलविद्युत उत्पादनको इजाजत स्वार्थ समूहको प्रभावमा पर्न सक्ने हुनसक्छ । यसतर्फ सचेत हुन जरुरी छ ।’

भण्डारीले बैठकलाई सम्बोधन गरिरहेका बेला नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषय उठाउने क्रममा ‘प्रधानमन्त्रीको सालो’ शब्द प्रयोग गरेको भन्दै नेकपा एमालेको गण्डकी प्रदेशसभा संसदीय दलका सचेतक गोविन्द नेपालीले नियमापत्ति गरेका थिए । भण्डारीले ‘प्रधानमन्त्रीको सालो’ शब्द प्रयोग नगरेपनि नेपालीले भने सो शब्द रेकर्डबाट हटाउन माग गरिरहे । नेकपा एमालेका सचेतकसमेत रहेका नेपालीले कुलमान हटाउने सरकारको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेका थिए ।

तर सांसद भण्डारीले भने आफूले प्रधानमन्त्रीको सालो भन्ने शब्द प्रयोग नगरेको जिकीर गरे । त्यस क्रममा दुई सांसदबीच नोकझोंक भएको थियो । उनले बोल्दै नबोलेको शब्द बोलेको भनेर नियमापत्ति जनाउने नेपालीको भनाईप्रति नै नियमापत्ति गरे । दुई सांसदबीच सवालजवाफ भइरहेपछि सभामुख कृष्णप्रसाद धितालले भिडियो हेरेर पछि निर्णय गर्ने भन्दै नोकझोंक साम्य पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।