मणिपाल अस्पताल र जिल्ला प्रशासन कार्यालय कास्कीबीच स्वास्थ्य सेवा प्रदान सम्झौता


     एभरेस्ट आवाज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित




पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्की, र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा प्रदान, प्रवर्द्धन तथा सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार मणिपाल अस्पतालले जिल्ला प्रशासन कार्यालय कास्की परिसरमै २३९ बर्ग फिटको “स्वास्थ्य परीक्षण कक्ष” निर्माण गरि जनस्वास्थ्य सेवाबारे जानकारी दिने, सचेतना प्रदान गर्ने र सेवाग्राही ज्येष्ठ नागरिक तथा अन्यले समेत आवश्यक आकस्मिक सेवा प्राप्त गर्नेछन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठका अनुसार अस्पतालका स्वास्थ्य प्राबिधिकहरु रहनेछन् । अस्पतालका कर्मचारीहरूले सेवाग्राहीहरूलाई सरकारी स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन प्रोत्साहित पनि गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा जिल्ला प्रशासन कार्यालयले कास्की जिल्लामा निःशुल्क स्वास्थ्य जाँच शिविर (Free Medical Checkup Camp) सञ्चालन गर्न अनुरोध गरेमा, मणिपाल अस्पतालले आफ्नो उपलब्ध टोलीको समयतालिका अनुरूप शिविर सञ्चालन गर्नेछ।
स्वास्थ्य परीक्षण कक्ष सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण विद्युत तथा सरसफाइ खर्च जिल्ला प्रशासन कार्यालयले व्यहोर्नेछ, भने स्वयंसेवी व्यवस्थापन मनिपाल अस्पतालले गर्नेछ।
सम्झौताअनुसार प्रदान गरिने निःशुल्क स्वास्थ्य परीक्षण सेवामा रक्तचाप जाँच, शरीरको तापक्रम मापन, सामान्य परीक्षण र आकस्मिक स्वास्थ्य सेवा समावेश हुनेछ। साथै, विशेष गरी ज्येष्ठ नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै, स्वास्थ्य परीक्षण क्षेत्रभित्र आराम कुर्सीको व्यवस्था गरिनेछ।

सम्झौतामा कास्की सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री तथा मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार औडुबिलले हस्ताक्षर गरेका छन् । साथै, सम्झौता पत्रमा नेपाल मणिपाल शिक्षण अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिव लम्सालले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले कास्की जिल्लाका सेवाग्राही नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।