पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिबल प्रतियोगिता आयोजना हुने


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरामा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ M को आयोजना तथा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिवल संघ, गण्डकी प्रदेश खेलकुद परिषद् तथा विभिन्न संघसंस्थाको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको लायन्स कप भलिवल प्रतियोगिता आयोजना हुने भएको हो ।

पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा आगामी २०८२ बैशाख १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा पाकिस्तान भलिवल क्लब (इस्लामाबाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिवल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लबलगायतका टिमहरूको सहभागिता रहनेछ। भारत र इरानका टिमहरूसँग पनि सहभागिताका लागि छलफल भइरहेको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । प्रतियोगिताको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिवल खेलको प्रवर्द्धन गर्नु रहेको गभर्नर अर्यालले बताए । उनले आगामि दिनमा पनि यस प्रतियोगिताले निरन्तरता पाउने बताए । प्रतियोगितामार्फत युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर प्रदान गरिनेछ। पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य प्रतियोगिताले राखेको छ। प्रतियोगिताले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । प्रतियोगिता प्रत्यक्ष प्रसारण (Live Broadcasting) गरिनेछ। दर्शकहरूका लागि मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ। उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार रु. चार लाख ४४ हजार ४४४ ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ। द्वितीय पुरस्कार रु. दुई लाख ४४ हजार ४४४ ट्रफी, मेडल तथा प्रमाणपत्र रहनेछ। तृतीय पुरस्कार रु. एक लाख ४४ हजार ४४४ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. १४ हजार ४४४ मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। विधागत पुरस्कारको लागि रु. आठ हजार ४४४ को व्यवस्था गरिएको छ।

प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिवल संघ, टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूको विशेष सहयोग रहने बताईएको छ ।

लायन्स अन्तर्राष्ट्रियले नेपालमा महाभूकम्प, बाढीपहिरो, कोभिड–१९ लगायतका विपद्मा नेपाल सरकारसँग सहकार्य गर्दै करिब ५० करोड रुपैयाँको लगानीमा सामुदायिक विद्यालय पुनर्निर्माण गरिसकेको छ। पश्चिम नेपालमा गएको भूकम्पमा करिब ६ करोड बराबरको राहत सहयोग गरिएको छ। कर्णालीमा खाद्य सुरक्षाका लागि ठूलो धनराशिको परियोजना स्वीकृत गरिएको छ। हालै त्रिभुवन विश्वविद्यालय ब्लड बैंक स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त गरिएको छ। यसैक्रममा, नेपालमा भलिवल खेलको प्रवर्द्धन गर्न पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। क्याबिनेट सचिब शिवराज आचार्यले संचालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन डिस्ट्रिक्ट गभर्नर इलेक्ट धनिराम बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।