कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए पार्टीमा उजुरी


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १४

नेपाल विद्यार्थी संघ (नेविसंघ)को कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारवाही गर्न माग गर्दै पार्टीमा उजुरी दिएका छन् । कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका ११ जना केन्द्रीय सदस्यहरुले सभापती बराल नालायक भएको भन्दै कारवाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरु राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले विहीबार पोखरामा संयुक्त पत्रकार सम्मेलन गरेर सभापती बरालबिरुद्ध पार्टीमा उजुरी दिएका जानकारी दिएका हुन् । उजुरीमा उनीहरुले ७ दिन भित्रमा पदबाट बर्खास्त गरि साधारण सदस्यबाटसमेत निस्कासन गर्न माग गरेका छन् । अन्यथा आफूहरु आन्दोलनमा जाने उनीहरुको चेतावनी छ ।

नेविसंघका केन्द्रीय सदस्यहरुले सभापती बरालले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा आफ्नै विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको, नेविसंघका उम्मेदवारको मनोनयन पत्र च्यात्न लगाएर उम्मेदवार दिनबाट बञ्चित गराएको, स्ववियु चुनावका लागि भनेर आर्थिक संकलन गरेको तर सो रकम नेविसंघलाई नदिई आर्थिक घोटाला गरेकोलगायतका गम्भीर आरोपहरु लगाएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसको स्ववियु चुनावमा नेविसंघका उम्मेदवार पराजित हुनुमा सभापती बराल दोषी भएको सो क्याम्पसका नेविसंघका केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले बताए । ‘नेविसंघले सचिव पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाएको थियो । सो अनुसार मनोनयन पत्र लिइएकोपनि हो तर सभापती बरालको निर्देशनमा केन्द्रीय सदस्य रेजिना खड्कालाई मनोनयनपत्र च्यात्न लगाइयो । जसका कारण उपाध्यायले मनोनयन नै गर्न पाएनन् ।’

अर्का केन्द्रीय सदस्य नसिब गुरुङले सभापती बरालले एमाले, माओवादीसँग मिलेर नेविसंघको अस्तित्व नै संकटमा पार्ने काम गरेको आरोप लगाए । उनले भने,‘उहाँले स्ववियु चुनावका लागि भनेर आर्थिक संकलन अभियान चलाउनुभयो तर उठेको रकम नदिई आफैले राख्नुभयो ।’

अर्का केन्द्रीय सदस्य अञ्जान थापाले सभापती बरालले आर्थिक संकलन गरेको रकम आफ्नै उम्मेदवार हराउन प्रयोग गरेकोसमेत दाबी गरे,‘आर्थिक सहयोग हामीलेपनि गरेका हौं । तर त्यो रकम कहाँ गयो हामीलाई अहिलेसम्म थाहा दिइएन । हाम्रो पैसा हाम्रै उम्मेदवार हराउन प्रयोग गरियो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।