माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८२ मा प्रकाशित




जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए ।

स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको शिक्षालय उनी प्रधानमन्त्री भएकै बेला बजेट विनियोजन गरेर अगाडि बढाइएको थियो । शिक्षालयको अनुगमनपछि प्रचण्ड सो दिन पोखरा आएर बास बस्ने ईञ्चार्ज अधिकारीले बताए ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत जेठ १० गते पोखराको चिप्लेढुंगामा जनसभा गर्ने तयारी गरिएको ईञ्चार्ज अधिकारीले जानकारी दिए । उनका अनुसार जनसभा अगाडि पोखराको पृथ्वीचोक र सिर्जनाचोक गरेर दुई ठाउँबाट ¥याली निकालिनेछ । ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगामा पुगेर जनसभामा परिणत हुने उनले बताए । त्यसअघि सोहि दिन विहान प्रचण्डलाई मर्निङ वाल्क हिंडाउने तयारी भएको उनको भनाई छ । तर रुट तय भइनसकेको उनले बताए ।

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जेठ १० गतेको जनसभालाई बृहद बनाईने बताए । त्यसका लागि वाईसिएल, विद्यार्थी, महिला, मजदुरलगायतका संगठनहरु लागिपरेको उनको भनाई छ ।

बैतडीको पाटनबाट शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान डडेलधुरा, दिपालय, अछाम, दैलेख, कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी, मुसिकोटलगायतमा सम्पन्न भइसकेको छ । अब रुकुम पूर्वको रुकुमकोट र थबाङमा बुधबार जनसम्वाद र जनसभा हुनेछ भने जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा जनसम्वाद हुने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।