पोखरा, जेठ १७ ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले इन्सेकले मानव अधिकारको अभियानलाई निरन्तर जागृत राख्दै आएको बताउनुभएको छ। पोखरामा आज सुरु भएको मानव अधिकार समुहका पदाधिकारीहरूका लागि क्षमता विकास तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो।
गर्तौलाले समुदायमा अझै पनि विभेदका घटनाहरू देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा पीडितलाई न्याय दिलाउन अधिकारकर्मीहरूको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले इन्सेकले मानव अधिकार हननका घटनामा राज्यको ध्यानाकर्षण गराउँदै आएको र उक्त अभियानलाई निरन्तरता दिइरहेको स्पष्ट पार्नुभयो।
गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले गैरसरकारी संस्थाहरूले मानव अधिकार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै, नागरिक समाजको सक्रियता अझ बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले नवलपुर र कास्की जिल्लामा गठन गरिएका मानव अधिकार समुहका पदाधिकारीहरूलाई लक्षित गरी जेठ १७ र १८ गतेसम्म २ दिन क्षमता बिकास तालिम सञ्चालन गरिने बताउनु भयो । उहाँले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिका, साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विगत तीन वर्षदेखि सचेतना र जवाफदेहितामा आधारित कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।
खकुरेलका अनुसार तालिममा सहभागीहरूलाई मानव अधिकारको अवधारणा, मानव अधिकारकर्मीको भूमिका, महिला अधिकारको कार्यान्वयन अवस्था, अपांगता भएका व्यक्तिहरूको अधिकार, जातीय विभेद विरुद्धको कानुनी अधिकार, र शुशासन प्रवर्द्धनमा नागरिक समाजको भूमिका, साथै नेतृत्व विकास जस्ता विषयमा प्रशिक्षण दिइनेछ।
कार्यक्रमको उद्घाटन सत्र प्रदेश मानव अधिकार सञ्जाल गण्डकीका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गर्तौला, विशिष्ट अतिथि गोपाल खड्का, महिला अधिकारकर्मी सवनम शर्मा, मानव अधिकार सञ्जाल तथा विभिन्न पालिकाबाट सहभागी पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १ गण्डकी प्रदेश सरकारले व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि रिटर्न…







