पोखरा, २०८२ जेठ १८
पर्यटनको राजधानी पोखराको मुटु फेवातालको संरक्षण र व्यवस्थापनतर्फ एक ऐतिहासिक कदम आजबाट औपचारिक रूपमा सुरु भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको १०५५ सीमा स्तम्भ (भौतिक पोल) गाड्ने कार्य शनिबारदेखि सुरु गरिएको हो।
सर्वोच्च अदालतले झन्डै दुई वर्षअघि दिएको परमादेशअनुसार, फेवातालको मापदण्ड स्पष्ट पार्न गठित फैसला कार्यान्वयन सहजीकरण समिति अन्तर्गत प्राविधिक उप–समितिले “हाई फ्लड पोइन्ट” वैज्ञानिक ढंगले निर्धारण गरेको थियो। सोही आधारमा १६ किलोमिटर क्षेत्रफलभित्र डिजिटल प्रणालीमार्फत १०५५ पोलको स्थान पहिचान गरिसकिएको थियो। अब, त्यही स्थानमा स्थायी भौतिक पोलहरू गाड्ने कार्य प्रारम्भ भएको हो।
भौतिक (फिजिकल) पोल गाड्ने कार्यक्रमको शुभारम्भमा मुख्यमन्त्री पाण्डेले पिल्लर नम्बर १, पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पिल्लर नम्बर २ र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पिल्लर नम्बर ३ गाडेर भौतिक (फिजिकल) पोल गाड्ने अभियान शुरु गरिएको थियो ।
मुख्यमन्त्री पाण्डेले डिजिटल पोलमार्फत सुरुवात भइसकेको थियो, अब हामीले भौतिक पोल गाड्ने कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताउनु भयो । उहाँका अनुसार अब सीमांकनपछिको चरणमा फेवातालको सौन्दर्यकरण र व्यवस्थापन कार्य तीव्र रूपमा अगाडि बढाइनेछ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सीमांकन कार्यलाई फेवातालको संरक्षण, वातावरणीय सन्तुलन र सांस्कृतिक पहिचान जोगाउने दिशामा ऐतिहासिक माइलस्टोनको रूपमा व्याख्या गर्नुभयो।
मेयर आचार्यले पाँच दशकदेखि अनुत्तरित रहँदै आएको—फेवातालको वास्तविक सीमा कहाँ हो?—भन्ने प्रश्नमा अब स्पष्टता ल्याउने काम सुरु भएको बताउनु भयो । हाम्रो पोखरा, हरियाली पोखरा। हाम्रो ताल, हाम्रो जिम्मेवारी। वातावरण र प्राकृतिक सम्पदाको संरक्षणमा अब सबैले हातेमालो गर्नुपर्छ।”
यस अभियानपछि मापदण्डभित्र पर्ने वैध संरचनाहरूलाई क्षतिपूर्तिको व्यवस्था गरिनेछ भने मापदण्डबाहिरका अवैध अतिक्रमणहरू हटाउन आह्वान गरिनेछ।
पोखरा महानगर, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त समन्वयमा अघि बढाइएको यो अभियानले फेवातालको दीर्घकालीन संरक्षण, सुन्दरीकरण, र व्यवस्थापनमा ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







