स्थानिय तहमा सशस्त्र प्रहरीद्वारा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८२ मा प्रकाशित




पोखरा, २०८२ जेठ २१ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण, कालिका कास्कीको आयोजना र पोखरा महानगरपालिकाको समन्वयमा पोखराको कालिका गणमा “समुदाय विपद् स्वयंसेवक तालिम” सुरु गरिएको छ। बुधबार जेठ २१ गतेदेखि असार १० गतेसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कालिका गणमा दक्ष उद्धार टोली रहेको उल्लेख गर्दै, तालिम सहभागीहरूले अनुशासनपूर्वक तालिम पूरा गरी वर्षायामसँगै आउने संभावित विपद् जोखिमहरूको न्यूनीकरण तथा रोकथाममा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो तालिममा पोखराका सबै वडाबाट प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थी सहभागी छन्।

कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेना, पोखरा महानगरपालिका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारी, विपद् महाशाखा प्रमुख किरण चौधरी, तालिम प्रशिक्षकहरू तथा विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तालिममार्फत विपद् जोखिम न्यूनिकरण तथा तत्काल उद्धार क्षमताको विकास गर्दै स्थानीय तहमा प्रभावकारी विपद् व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

सहभागी प्रशिक्षार्थीहरूलाई विपद्को परिचय, नेपालमा विद्यमान विपद् व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी, पहिरो तथा डुबान व्यवस्थापन, अग्नि नियन्त्रण, बनडढेलो नियन्त्रण, डोरीद्वारा गरिने उद्धार सीप, भूकम्पीय जोखिम न्यूनिकरण, सडक दुर्घटनासम्बन्धी सुरक्षा उपाय, टुल्स तथा इक्विप्मेन्टको प्रयोग विधि, विभिन्न गाँठोहरू बाँध्ने तरिका, बेस क्याम्प निर्माण विधि, Water Rescue Technique तथा Improvised Swimming Aids जस्ता विविध विषयहरूमा सैद्धान्तिक र व्यवहारिक तालिम प्रदान गरिनेछ।

गणपति एसपी सूर्य प्रसाद तिमिल्सेनाले तालिमको उद्देश्य समुदायमा विपद्को बेला प्राथमिक उद्धारकर्ताको भूमिकामा खटिन सक्ने स्वयंसेवक तयार पार्नु रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, स्थानीय स्तरमा सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै तत्काल विपद् प्रतिकार्यमा सहभागी हुने क्षमतायुक्त टोली निर्माण गर्न तालिम महत्वपूर्ण हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।