बाटुलेचौरमा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

- प्रदेश सरकारको औचित्य बढेको मन्त्री थापाको दाबी


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०८२ मा प्रकाशित




पोखरा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताएका छन् ।

प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दाबी गर्दै यसको औचित्य झनै बढेको दाबी गरे । प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क उनको थियो ।

पोखराको बाटुलेचौर स्थित बडहरवोटमा निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उदघाटन गर्दै उनले जेष्ठ नागरिकको सम्मानले मात्रै समाज सम्मानित हुने बताए । मन्त्री थापाले पोखरा १६ का बासिन्दाले भोग्नु परेका ढल निकास र सडकको समस्यालाई समाधान गर्न आगामी बजेटमा यथोचित सम्बोधन गरिने प्रतिबद्धता जनाए । ढल नालाको समस्यालाई बहुवर्षीय योजनामा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री थापाले त्यसका लागि स्थानीय सरकारको समवन्य आवश्यक रहेको तर्क गरे ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विकासमा राजनिति नहुने बताउ । उनले सबैको सहयोगमा वडालाई समृद्ध वडा बनाउने अभियान चलाईरहेको बताए । केन्द्रका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक महासंघका सचिव कुशुम केशव पराजुली, ईन्जिनियर हरि बस्नेत, समाजसेवी चित्र थापा, कोषाध्यक्ष पोषण थापा लगायतले भवन निर्माणका विषयमा बोलेका थिए । ९ वर्ष अघि शिलन्यास गरिएको सो भवन हालसम्म २ तला निर्माण भई संचालनमा आउन लागेको र हालसम्म २ करोड १९ लाख खर्च भएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

केन्द्रका उपाध्यक्ष जगन्नाथ तिमल्सिनाले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन सचिव दिनेशकुमार श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।