पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाको आयोजनामा वडा नं. १० मा रहेका टोल विकास संस्था र आमा समूहका सदस्यहरूलाई लक्षित गरी मधुमेह (सुगर) र मृगौला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
उपशाखा १० को सभाहलमा आयोजित शिविरमा पोखरा महानगरपालिका वडा नं. १० का अध्यक्ष राजेश गुरुङ (राजु) को प्रमुख आतिथ्यतामा दीप प्रज्वलन तथा रेडक्रसका संस्थापक हेनरी ड्यूनाँको तस्वीरमा माल्यार्पण गर्दै उद्घाटन गरिएको थियो। प्रमुख अतिथी गुरुङले मानवीय सेवामा समर्पित रेडक्रस उपशाखा १० ले समय–समयमा सञ्चालन गर्दै आएका स्वास्थ्य शिविर, विपद् व्यवस्थापन र सचेतना कार्यक्रमहरू वडा स्तरमै अत्यन्त प्रभावकारी ढंगले सञ्चालन गर्दै आएको भन्दै उपशाखालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्य शिविर रामबजारस्थित किरण मेडिकल हल अन्तर्गतको आर.सी. हेल्थ क्लिनिकको विशेष सहयोगमा सञ्चालन गरिएको थियो। शिविरमा उपशाखाका आजीवन सदस्यहरूसहित टोल–टोलबाट सहभागी करिब १६० जनाको मधुमेह र मृगौला रोग परीक्षण गरियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री एवं उपशाखा १० का समन्वयकर्ता सन्तोष अधिकारीले रेडक्रस उपशाखाको कामको प्रशंसा गर्दै कास्की जिल्लामा भविष्यमा करिब ३० लाख जनसंख्यालाई प्रभावित गर्न सक्ने सम्भावित विपद्को जोखिम रहेको भन्दै, उपशाखा १० बाट पनि विपद् व्यवस्थापनमा थप योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, वडा कार्यालयले हरेक वर्षको कुल बजेटको कम्तीमा ५% विपद् व्यवस्थापनमा छुट्याई, रेडक्रससँग समन्वय गरी समुदायस्तरमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
स्वास्थ्य शिविरमा आर.सी. हेल्थ क्लिनिकका संचालक रामचन्द्र पौडेलले दैनिक जीवनशैलीमा सन्तुलित खानपान र नियमित शारीरिक व्यायामले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने सुझाव दिनुभयो। कार्यक्रमको सहकार्य अवसरप्रति कृतज्ञता व्यक्त गर्दै रेडक्रस उपशाखालाई धन्यवाद दिनुभयो।
शिविरमा वडा सदस्य पूर्णचन्द्र न्यौपाने, वडा सदस्य परमेश्वर बहादुर कार्की, रामबजार सोसाइटी यूकेका संस्थापक अध्यक्ष राम बहादुर गुरुङ, पूर्व अध्यक्ष रूपक गुरुङ, रामबजार जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष थमानसिंह थापा लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभएको समाजसेवी अभियनेता महेश गुरुङले जानकारी दिनु भयो ।
उपशाखा सभापति जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा कोषाध्यक्ष नरहरी पनेरूले रेडक्रसका सात सिद्धान्त वाचन, सदस्य धनमाया गुरुङले स्वागत मन्तव्य र संचालन सचिब बिनप्रसाद गुरुङले गर्नुभएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







