पोखरा, ११ असार।
पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्समा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बुधबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा २ सयभन्दा बढी चित्रकला कृतिहरू प्रदर्शनमा राखिएका छन्, जसमा १४ वटा चित्र कुमुदिनी होम्सका विद्यार्थीहरूले तयार पारेका हुन्।
प्रदर्शनीको उद्घाटन गर्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले नेपाल र बंगलादेशबीच सांस्कृतिक मात्र नभई विभिन्न क्षेत्रमा सुदृढ सम्बन्ध रहेको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीका लागि विद्यालयलाई छनोट गरेकोमा आयोजक नर्थ क्यानभास इन्टरनेशनललाई धन्यवाद ज्ञापन गर्दै कुमुदिनीमा रहेको कला संग्रहालय देशभरिका विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको जानकारी दिए। उनले विद्यार्थीहरूलाई कलाप्रति समर्पित हुन प्रेरित पनि गरे।
प्रतियोगिता संयोजक तथा नर्थ क्यानभास इन्टरनेशनल बंगलादेशका निर्देशक असन अहमदले प्रतिभावान कलाकारहरूलाई अवसर प्रदान गर्नु संस्थाको उद्देश्य भएको जनाउँदै कुमुदिनीमा प्रदर्शनी आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। कला र संस्कृतिले राष्ट्रिय सीमाभन्दा परको मानवीय सम्बन्धमा सेतुको भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
प्राज्ञ तथा विम्बकवि रमेश श्रेष्ठले कुमुदिनी होम्सले कला मार्फत सन्देश फैलाउने उल्लेखनीय भूमिका खेलेको भन्दै पढाइसँगै सिर्जनात्मक कलामा पनि विद्यार्थीहरूलाई लाग्न आग्रह गरे।
आयोजकले आगामी वर्ष प्रदर्शनीलाई झनै बृहत् बनाउने योजना रहेको जानकारी दिँदै बंगलादेशबाट १६ जना कलाकारहरूको टोली सहभागी रहेको बताए।
कार्यक्रममा उत्कृष्ट चित्रकलाका लागि कुमुदिनी होम्स र बंगलादेशका कलाकारहरूलाई विद्यालयका अध्यक्ष अशोक पालिखे, निर्देशक असन अहमद, प्राज्ञ रमेश श्रेष्ठ, विद्यालय सञ्चालक समिति अध्यक्ष रश्मि पालिखे लगायतले प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुति दिएका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सुरेन्द्रराज अधिकारीले गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







