प्रतिभा माविका विद्यार्थीले भलाम पुगेर गरे धान रोपाईंको प्रत्यक्ष अनुभव


     एभरेस्ट आवाज    
     असार १५ गते २०८२ मा प्रकाशित




पोखरा, असार १५

पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका विद्यार्थीले भलाम पुगेर धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका छन् । हरेक वर्ष साना साना विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अवलोकन गर्न लग्दै आएको प्रतिभा माविले यस वर्ष भलाम फाँट लगेर धान रोपाईंको प्रत्यक्ष अवलोकन गराएको हो ।

‘मानो खाएर मुरी उब्जाउने’ दिन अर्थात धान दिवसको अवसर पारेर कक्षा एक सम्मका विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराएको विद्यालयकी मन्टेश्वरी को–अर्डिनेटर निर्मला सुवेदी श्रेष्ठले जानकारी दिईन् । हिलो खेल्नुका साथै धान रोपाईंको प्रत्यक्ष अनुभव गराइयो,उनले भनिन्,‘सो अवसरमा विद्यार्थीलाई धान रोपाईंमा प्रयोग हुने उपकरणहरु हलो, ट्रयाक्टर, कोदालोदेखि धानको बिउ, रोपाहार, बाउसेलगायतको चिनारीपनि भयो ।’ यस अनुभवले विद्यार्थीले आफूले खाने अन्न कसरी उत्पादन भई हाम्रो भान्छामा आईपुग्छ भन्नेबारेमा जानकारी मिलेको उनको भनाई छ । ‘प्रतिभा माविले विद्यार्थीलाई कितावी ज्ञानसँगै प्राक्टिकल ज्ञानमा पनि जोड दिइदै आएको र यसलाई आईतबारपनि निरन्तरता दिइयो’–उनले भनिन् ।

त्यहाँ विद्यार्थीले धान रोपाईंको अवलोकन गर्नुका साथै आफैपनि धान रोपेर धान रोपेको प्रत्यक्ष अनुभव गरेका थिए । ‘विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराउनु नै हाम्रो उद्देश्य हो’–उनले भनिन् ।

सो अवसरमा विद्यार्थीलाई दही चिउरापनि खुवाईएको थियो । सहभागी विद्यार्थीहरुले आ–आफ्नो जातिय संस्कृति अनुसारको भेषभुषा लगाएको उनले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।