अन्तर प्रदेश राष्ट्रिय भारत्तोलन प्रतियोगिताको ९८ केजी तौल समूहमा पोखराका कुशल प्रथम


     एभरेस्ट आवाज    
     असार १७ गते २०८२ मा प्रकाशित




पोखरा, असार १७

अन्तर प्रदेश राष्ट्रिय भारत्तोलन प्रतियोगितामा पोखराका कुशल गुरुङ प्रथम भएका छन् । मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले बिरगञ्जमा आयोजना गरेको प्रतियोगितामा पोखरा-१२ निवासी कुशलले ९८ केजी तौल समूहमा अन्य प्रदेशका प्रतिष्पर्धीलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेका हुन् । सांगीतिक व्याण्ड डि–मर्चाका ड्रमरसमेत रहेका उनले स्न्याचतर्फ ९१ केजी तथा क्लिन एण्ड जर्कतर्फ १२० केजी गरेर कुल २२१ केजी तौल उठाउँदै प्रथम स्थान हासिल गरे ।

बिजेता कुशलले मेडल र प्रमाण पत्र प्राप्त गरे । कुशलले यसअघि राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सो तौल समूहबाट छनौट भइसकेका छन् भने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए । उनले विभिन्न प्रतियोगितामासमेत प्रथम स्थान हासिल गरिसकेका छन् ।

त्यस्तै, अन्तर प्रदेश राष्ट्रिय भारत्तोलन प्रतियोगिताको महिलातर्फ ७७ केजी तौल समूहमा पोखराकी सरस्वती गुरुङले प्रथम स्थान हासिल गरिन् भने ८५ केजी तौल समूहमा सिञ्जल गुरुङले द्वितीय स्थान हासिल गरे । त्यस्तै पोखराकै सुदीप गुरुङले ११० केजी तौल समुहमा दोस्रो स्थान हासिल गरे । अर्का १४ वर्षिय पोखरेली प्रतिस्पर्धी सायून गुरुङलाई राईजिङ स्टार घोषणा गरि मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।