पोखरा, २२ असार ।
गण्डकी प्रदेशमा बसोबास गर्दै आएका किराती समुदायको भाषा र संस्कृतिका विविध पक्षमाथि एक दिवसीय गोष्ठी मार्फत पोखरामा गहन विमर्श सम्पन्न भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा किरात अध्ययन तथा अनुसन्धान केन्द्र, कास्कीको आयोजनामा भएको सो गोष्ठीमा विभिन्न विज्ञ, प्राज्ञ तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रदीप कुलुङले गण्डकी प्रदेशमा किराँत समुदायको बसोबास २०२० सालदेखि सुरु भएको तथ्य प्रस्तुत गरे। गोर्खा भर्तीको सिलसिलामा मगर र गुरुङ समुदायसँगको निकटताका कारण विशेषगरी पोखरा क्षेत्रमा किराँत समुदायको बसाइँसराइँ बढ्दै गएको उल्लेख गर्दै उनले सांस्कृतिक घुलमिल र सहअस्तित्वको अभ्यासमा किराँत समुदाय अग्रसर रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत साहित्य तथा मातृभाषा विभागका प्रमुख प्राज्ञ राजन मुकारुङले यो विमर्शले गण्डकी प्रदेशमा किराती समुदायको भाषिक तथा सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरे।
“भाषा र संस्कृतिको संरक्षण प्रविधिसँगको समायोजनमार्फत मात्र सम्भव हुन्छ,” उनले भने, “नयाँ पुस्ताले प्रविधिमैत्री भएर आफ्नो भाषा र संस्कृतिप्रति चासो बढाउन जरुरी छ।”
प्राज्ञ मुकारुङले किराँत समुदाय जहाँ भए पनि अन्य समुदायसँग सांस्कृतिक आदान–प्रदान गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संस्कृतिलाई जडता नभई सौन्दर्यको दृष्टिकोणबाट हेर्नुपर्ने धारणा राखे।
कार्यपत्रमाथि टिप्पणी गर्दै दीपेन्द्र राई, दिनेश सुब्बा र अर्जुन मान्थेर्बुले किरात समुदायको इतिहास र वर्तमान अवस्था गण्डकी प्रदेशको सन्दर्भमा समेट्न गरिएका प्रयासहरू सन्दर्भानुकूल र आवश्यक भएको बताए।
गोष्ठी किरात अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष रामकुमार राईको अध्यक्षता तथा सचिव अनुज कुलुङको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विश्वहाङ राई लगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







