सुपरमादी हाइड्रोपावरको लापरवाहीले मादी–६ चाँसुका एक किशोर गम्भीर घाईते

- हाईटेन्सन व्यवस्थापन गर्न प्रदेश सांसद गुरुङले गराए संसदबाट सरकारको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार २३ गते २०८२ मा प्रकाशित




पोखरा, असार २३

सुपरमादी हाइड्रोपावरको लापरवाहीले एक किशोर गम्भीर घाईते भएका छन् । सो हाइड्रोपावरले हाईटेन्सन तार व्यवस्थापन नगर्दा कास्कीको मादी–६ चाँसुका स्थानीय विजय बराल गम्भीर घाईते भएका हुन् । कक्षा १२ मा अध्ययनरत बराल मकैको ढोड हटाउने क्रममा असार १५ गते पूर्वाह्न १०ः१५ बजेतिर हाईटेन्सन तार छोइएर करेन्ट लाग्दा घाईते भएको मादी–६ वडा कार्यालयले एक सूचना निकालेर जानकारी दिएको हो ।

हाइटेन्सन लाइन छोएर घाईते किशोरको ५० प्रतिशत शरिरहेको भाग जलेको छ । पोखरामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल पठाइएको छ ।

यसैबीच, प्रदेश सभा बैठकको शून्य समयमा सोमबार बोल्दै गण्डकी प्रदेश सभा सदस्य (सांसद) वेदबहादुर गुरुङ (श्याम)ले सुपरमादी हाइड्रोपावरको हाइटेन्सन लाइन अत्यन्त होँचो भएकाले दुर्घटना हुन पुगेको बताए । उनले भने,‘सुपरमादी हाइड्रोपावरको लाईन सुरक्षा मापदण्डविपरीत अत्यन्त होँचो छ । यहि लापरवाहीका कारण किशोर घाइते भए ।’

सांसद गुरुङले हाइटेन्सन लाइन अग्लो नबनाई विद्युत आपूर्ती गर्न नदिन माग गरे । सांसद गुरुङले भने,‘हाइड्रोपावर कम्पनीहरूको चरम लापरबाहीले स्थानीयको ज्यान जोखिममा परेको छ । तत्काल सुधारात्मक कदम चाल्न म माग गर्दछु ।’ उनले लापरबाही गर्ने हाइड्रोपावरलाई कारबाही गर्न र पीडितलाई उपचार गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश सांसद गुरुङले सिक्लेस हाइड्रोपावर र नामर्जुङ हाइड्रोपावरको हाइटेन्सन लाइन पनि धेरै ठाउँमा सुरक्षा मापदण्डविपरीत रहेकाले तिनीहरुलाई मापदण्ड अनुसार बनाउनका लागि सुधारात्मक कदम चाल्नका लागि दवाब दिन आग्रह गरे । त्यतिञ्जेलसम्म तिनीहरुलाईपनि बन्द गर्न उनले माग गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।