सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल सञ्चालन


     एभरेस्ट आवाज    
     असार ३१ गते २०८२ मा प्रकाशित




रासस)
गण्डकी,३१ असार

पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।
अठार मिटर लम्वाई र एक दशमलव पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीसमेत लाभान्वित हुनेछन् ।
गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसावले महत्वपूर्ण भएको वताए । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उनको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण वानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जुट्ेको बताए । पुल निर्माणले सो क्षेत्रका स्थानीयवासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उनीहरुको सामुहिक भनाई थियो ।
पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी,सचिव विक्रमवावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।