पोखरा, साउन ३
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । एमाले कास्कीको शनिबार बसेको पूर्ण बैठकले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्ने योजनाको घुस डिल भएको अडियोमा मुछिएका मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो ।
घुस डिल भएको अडियोमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिइसकेको तर सोहि काण्डमा मुछिएका अधिकारी पदमा कायम रहनु गलत हुने भन्दै अधिकारीलाईपनि बर्खास्त गर्न माग गरिएको छ । बैठकपछि एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले भने,‘घुस प्रकरणमा जोडिएका दुबै जनालाई समान तरिकाले अनुसन्धान होस्, दोषि पाइए कारबाहीको माग गर्दै निर्णय गरिएको छ ।’
बैठकमा जिल्ला पदाधिकारी तथा सदस्यहरुले मन्त्री अधिकारीलाई बर्खास्त गर्न माग गर्नुपर्ने आवाज उठाएका थिए । बैठकको एजेण्डा नभएपनि अधिकांश पदाधिकारी तथा सदस्यहरुले माग गरेपछि त्यसलाई निर्णय नै गरिएको उनको भनाई छ । अध्यक्ष अधिकारीले भने,‘एउटै प्रकरणमा जोडिएका एउटा मन्त्रीले राजिनामा दिनुपर्ने, अर्को मन्त्रीचाहिं पदमा रहिरहनु उचित होईन भन्ने आवाज उठ्यो । हामीले दुबैलाई समान व्यवहार गर्न र छानविन गरी दोषि देखिए कारवाही गर्न माग गर्ने निर्णय ग¥यौं ।’ उनका अनुसार घुस प्रकरणका कारण पार्टीमा ठूलो क्षेती पुग्ने देखिएकाले यसको निरुपण छानविनबाटै होस् भन्ने अधिकांश सहभागीको माग भएवमोजिम बैठकले निर्णय लिइएको हो । सबैको निस्पक्ष छानविन होस् भन्ने छ,उनले भने,‘अहिले अडियो सुनेकै भरमा हामीले दोषि भन्ने कुरापनि भएन । त्यो अडियो असली हो कि होईन हामीले छुट्याउने कुरापनि भएन । त्यसैले त्यो प्रयोगशालामा लगेर निक्र्यौल नभएसम्म छानविनमा सहयोग पु¥याउनु मन्त्रीको जिम्मेवारी भएकाले त्यसमा सहजीकरण गरियोस् भन्ने हाम्रो चाहना हो ।’
मन्त्रीसँग घुस डिलमा सहभागी बिचौलिया भनिएका सुजन लामाको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय यसअघि नै पार्टीले गरिसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । लामाले पोखरा–२५ बाट एमालेको पार्टी सदस्यता लिएपनि विवादमा आएकाले यसको निरुपण नभएसम्म नवीकरण नगर्ने निर्णय भएको उनको भनाई छ ।
यसअघि पोखराको लामौचौरमा रहेको १३५ रोपनी जग्गा हडप्न मन्त्रीसँग घुस डिल भएको अडियो सार्वजनिक भएको थियो । करीब ४० वर्षअघि कास्की जिल्ला र पश्चिमाञ्चल अदालतले दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहको नाममा कायम गर्ने फैसला गरेको सो जग्गा बिचौलिया लामाले हकवाला फेर्न घुस डिल भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







