कास्कीका घान्द्रुक, सिक्लेस र ताङतिङ पनि रातीमा जान लगाइएको रोकलाई निरन्तरता


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८२ मा प्रकाशित




प्रशासनले कास्कीका प्रमुख पर्यटकीय गन्तव्यहरु घान्द्रुक, सिक्लेस र ताङतिङ पनि रातीमा जान रोक लगाएको छ । लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरोको जोखिम देखिएपछि प्रशासनले रातीको समयमा ती गन्तव्यहरुमा जान रोक लगाएको हो । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटोमा रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बताईन् । यी बाटाहरुमा निगरानीसमेत बढाइएको बताउँदै उनले भनिन्,‘यी गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन लगाईंदै आएको रोकलाई निरन्तरता दिइएको छ ।’ उनका अनुसार सिक्लेस र घान्द्रुकलगायतका क्षेत्रमा असार २५ गतेदेखि नै र अन्य क्षेत्रमा असार ३१ गतेदेखि साँझ ५ बजेभित्र गाडी छुटिसक्नुपर्ने नियम बनाइएको छ । विहानपनि ५ बजेदेखि मात्रै सवारी साधन सञ्चालनको अनुमति दिइएको उनले बताईन् ।

पर्यटक एवम् पदयात्रीको सुरक्षाका लागि रातको समयमा सवारी साधन चलाउन रोक लगाइएको सिडिओ शर्माले बताईन् । शर्माका अनुसार पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकका लागि कोत्रे, लामेआहाल, तालचोक र बिजयपुरमा डोजर र इञ्जिनियरसहित अलर्ट अवस्थामा राख्न निर्देशन दिइएको छ भने पोखरा–बागलुङ सडक, सिद्धार्थ राजमार्गको छोरेपाटन कुभिण्डे खण्ड र बेगनासताल–भोर्लेटार सडकमा पनि अलर्ट अवस्थामा निर्देशन दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।