कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८२ मा प्रकाशित




पोखरा, साउन १५

पोखरामा हालसालै भएको कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर भएको छ । जिल्ला वन कार्यालय कास्कीले पोखराका विभिन्न ठाउँका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरीसहित ७ जनाबिरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला वन कार्यालय कास्कीले मुद्दा दायर गरेकाहरुमा पोखरा–१४ शुभ मार्ग टोलका ताराप्रसाद तिवारी, योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, पोखरा–१४ साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल रहेका छन् ।

उनीहरु पोखराका विभिन्न वडा अन्तर्गतका सडक छेउका सार्वजनिक स्थानमा रहेका पुराना ऐतिहासिक चौतारीका वर, पिपल रूखहरू गैरकानूनी रूपमा कटानमा संलग्न भएको अनुसन्धानमा संलग्न कागजातहरुबाट पुष्टि भएको जिल्ला वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले बताए । यसअघि वर, पिपलका रुख काटेकाहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिपाउँ भन्दै पोखरा महानगरपालिका, नगरकार्यपालिकाले पत्र लेखेको थियो । त्यस्तै पोखरा पंक्षी समाज, मेरो नेपाल युवा समाज, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघ संस्थाहरूहरुले कार्यालयमा उजुरी दिएका थिए । सो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामासमेत उजुरी परेका थियो । महानगरको पत्र, संघसंस्थाको उजुरी र अख्तियारमा परेको उजुरीका आधारमा अनुसन्धान तहकिकात गर्दा उनीहरुले ऐन, नियमावली अनुसार प्रकृया नै नपुरÞ्याई आफूखुसी वर, पिपलका रुखहरु काट्नुका साथै कानून विपरित सम्झौता गरी समिदा बनाउन कोटिहोमका लागि भरपाई गरी लिने दिने गरेको पाइएकोसमेत दर्ता गरिएको अभियोग पत्रमा उल्लेख छ । त्यसैले प्रतिवादीहरूले वन ऐन, २०७६ को दफा ३७ (३) र वन नियमावली, २०७९ को नियम ८४ (६) को प्रकृया नपुरÞ्याई वर, पिपलका रुखहरु काटेको देखिएकाले उनीहरूलाई वन ऐन, २०७६ को दफा ४९ (घ) वमोजिमको कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) बमोजिम सजायको मागदाबी गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।