पूर्व राष्ट्रसेवक तथा नागरिक संघको कार्यालय जिरोकिलोमिटरमा स्थापना


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन २५

पूर्व राष्ट्रसेवक तथा नागरिक संघले कार्यालय स्थापना गरेको छ । हालैमात्र गठन भएको संघले पोखरा–५ जिरोकिलोमिटरमा कार्यालय स्थापना गरेको हो । कार्यालयको आईतबार संस्थाका संरक्षक तथा समाजसेवी शिवप्रसाद न्यौपानेले रिबन काटेर उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै संस्थाका संरक्षक तथा समाजसेवी न्यौपानेले संघको उद्देश्य राम्रो रहेको भन्दै संस्थाको मर्म र भावना अनुसार काम गर्न आग्रह गरे । सो अवसरमा उनले संस्थाको दीगो विकास र कार्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैयाँको चेक संघका अध्यक्ष चेतबहादुर रावल (प्रविन)लाई हस्तान्तरण गरे ।

संघका सल्लाहकार संयोजक सोमलाल कँडेलले संस्थाको शाखा ७७ जिल्लामै पु¥याएर यसको ख्याती बिस्तार गर्न आग्रह गरे । साथै उनले संस्थाका सदस्यहरुबीच सामिप्यता बढाउने, अन्तरघुलन हुने किसिमका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए ।

संघका बरिष्ठ उपाध्यक्ष गंगा हमाल (पुरी)ले संस्थालाई देशकै नमूना संस्था बनाउने उद्देश्य रहेको बताउँदै सो कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरिन् ।

संघका अध्यक्ष चेतबहादुर रावल (प्रविन)ले संस्थाले सामाजिक कार्यमार्फत संस्थालाई अगाडि बढाउने बताए । संस्थाको उद्देश्यमाथि प्रष्ट पार्दै उनले भने,‘हामी स्वास्थ्य शिविर आयोजना, सामाजिक सुरक्षा सम्बन्धि सचेतना, कानूनी सहायता लगायतका कार्यक्रमहरु आयोजना गर्नेछौं ।’

यसैबीच, संघले आईतबार नेपाली महिलाहरुको महान चाँड तीजको शुभकामना आदानप्रदान गर्नुका साथै संस्थामा आबद्द चेलीवेटीहरुलाई दर पनि खुवाएको छ । कार्यक्रममा सहभागि चेलीबेटीहरुले आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै नाचगान गरेर रमाइलो गरेका थिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष रामचन्द्र पराजुलीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुन्दर शर्मा पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।