देवघाटमा लक्षचण्डी महायज्ञ हुने, बिहिबार पोखरामा बिद्वदगोष्ठी आयोजना


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८२ मा प्रकाशित




पोखरा । देवभूमि नेपालको ऐतिहासिक त्रिवेणी संगमस्थल देवघाट धाममा गलेश्वर आश्रमको शतवार्षिकोत्सव अवसरमा नेपालको इतिहासमै पहिलोपटक आयोजना हुने लक्षचण्डी विराट् महायज्ञ बारे बृहत् जानकारी दिन पोखरामा आज बिहिबार विद्वद गोष्ठी आयोजना भएको छ।
लक्ष्य चण्डी महायज्ञ माघ १८ गतेदेखि फाल्गुन १७ गतेसम्म (तदनुसार 1st February – 1st March 2026) तय गरिएको छ र कार्यक्रम लगातार ३० दिनसम्म सञ्चालन हुनेछ। गलेश्वर आश्रमका पिठाधीश एवं अध्यक्ष महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले लक्षचण्डी महायज्ञ बारे बिस्तृत जानकारी दिनु हुदै अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वर बाबाको ध्यान–तपस्याको महाशक्तिले सदियौँदेखि उज्यालो फैलाउँदै आएको यस पुण्यभूमिमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि र आत्मकल्याण रहेको
बताउनु भयो । गलेश्वर आश्रमले आफ्नो सयौँ वर्षको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै यस महाआयोजनालाई ऐतिहासिक र भव्य बनाउन विशेष तयारी गरेको स्वामीजीले जानकारी दिनु भएको छ।

महायज्ञका क्रममा लक्षचण्डी विराट् महायज्ञ, धार्मिक–आध्यात्मिक विद्वगोष्ठी, एक लाख श्रीमहागणपति अथर्वशीर्ष पाठ, शतकुण्डीय (सय कुण्डीय) हवन, कन्या पूजन, धार्मिक सांस्कृतिक समारोह तथा सनातन परम्पराका अनुशासकीय कृत्यहरू सञ्चालन गरिनेछन्।

गलेश्वर आश्रमका पीठाधिश एवं अध्यक्ष तथा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजका अनुसार, “गलेश्वर आश्रमको शतवार्षिकोत्सव अवसरमा आयोजना हुने लक्षचण्डी विराट् महायज्ञले धर्म, संस्कार र राष्ट्रिय एकतालाई बलियो बनाउनेछ। यो महायज्ञ केवल धार्मिक उत्सव मात्र होइन, यो सनातन परम्पराको संरक्षण र आगामी पुस्तालाई आध्यात्मिक चेतनाको सन्देश दिने अभियान पनि हो।”

कार्यक्रमका गोष्ठी संयोजक तथा केदारेश्वर पीठका पीठाधिश डा. स्वामी चिदघन चैतन्य (लेखनाथ स्वामी) का अनुसार, “महायज्ञमा देश–विदेशका प्रख्यात पण्डित, योगी र आध्यात्मिक विद्वानहरूको सहभागिता रहनेछ। यसले नेपाललाई वैश्विक धार्मिक नक्सामा अझ प्रख्यात बनाउने अपेक्षा छ।”

लक्षचण्डी महायज्ञ बिद्वदगोष्ठीमा पूर्ब मन्त्री महादेव गुरुङ, पूर्व सांसद दिव्यमणि राजभण्डारी, सशस्त्र प्रहरीका प्र.उ. अरुण शर्मा, अधिवक्ता तारा शर्मा, उद्दमी राजेन्द्र अर्याल, बिश्व हिन्दु महासंघका शंकर खराल, प्रेमबहादुर जिसी, माधव भण्डारी, १६,००० अन्तर्राष्ट्रिय हरि ऊँ गुरु लक्ष्मण शर्मासहित उपश्थित धार्मिक आध्यात्मिक सामाजिक क्षेत्रका ब्यक्तित्वहरुले सफलताकालागि आफ्नो सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे ।

लक्षचण्डी महायज्ञकालागि आयोजकका तर्फबाट पिठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजज्यू (९८५१०५५४८७), महासचिव रामहरि अर्याल (९८५११२९७६६) र डा. स्वामी चिदघन चैतन्य (९८४६५७४७१४) सम्पर्क व्यक्ति रहेका छन्। श्रद्धालु, धार्मिक विद्वान र आम सर्वसाधारणको सहभागितासहित हुने यस महायज्ञलाई नेपालकै धार्मिक इतिहासमा एक अभूतपूर्व अध्यायका रूपमा लिइएकोछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।