आज सिसुवामा ताया:मचा प्रतियोगिता हुँदै


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित




पोखरामा आज तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुँदैछ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगितामा ३५ टिम प्रतिस्पर्धा गर्दैछन् । जसमा पुरुष २७ वटा र महिला ८ वटा गरेर ३५ वटा टीमले सहभागिता जनाएकाे सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए ।

तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यश वर्ष आज हुन लागेकाे हाे । समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भनिन्छ । सो दिन घर/घरबाट गाईजात्रासँगै तायाःमचा निकालेर बजार परिक्रमा गराउने चलन छ । त्यहि परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा निरन्तर तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको छ । तर गाईजात्राका दिन बजार परिक्रमा गर्दागर्दै रात पर्ने भएकाले गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्ने गरिएको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ‘सबैको सजिलोका लागि गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता राखिएको हो’–उनले भने ।

विगत २० वर्षदेखि आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता पहिलोपटक कोर पोखरा भन्दा बाहिर अर्थात लेखनाथमा हुन लागेको हो । यसअघि पोखराको भैरबटोल, विन्ध्यबासिनी, तेर्सापट्टी, रानीपौवा, पृथ्वीचोक, रामबजार लगायतका क्षेत्रमा हुने गरेको थियो । पहिलो पटक लेखनाथले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न पाएकाले यसलाई ऐतिहासिक बनाईने बताईएकाे छ ।

यस वर्षको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टीमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने सिशुवा प्रतियोगिताका सहसंयोजक भैरवलाल श्रेष्ठले जानकारी दिए ।

यस वर्ष महिलातर्फको उपाधि बिजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।