पोखरामा महिनावारीसम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८२ मा प्रकाशित




पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा महिनावारीसम्बन्धी अभिमुखीकरण तथा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा किशोरी, बालिका र महिलालाई महिनावारी, प्रजनन् स्वास्थ्य र सरसफाइबारे जानकारी दिइएको थियो। महिनावारीसँग जोडिएका सामाजिक भ्रम तोड्नुपर्ने र सुरक्षित अभ्यासले महिलाको स्वास्थ्य, आत्मसम्मान र आत्मविश्वासमा सुधार ल्याउने कुरा प्रस्तुतकर्ताले औंल्याए।

सो अवसरमा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याडबारे जानकारी दिँदै, त्यसले २–३ वर्षसम्म सुरक्षित प्रयोग गर्न सकिने, किफायती हुने र वातावरणमैत्री हुने बताइयो। साथै, आर्थिक बोझ कम गर्ने र फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्ने उल्लेख गरियो।

कार्यक्रमबाट ५१ जना महिला प्रत्यक्ष लाभान्वित भए ।सहभागीहरूले सिकेका ज्ञान र सामग्रीलाई दैनिकीमा प्रयोग गर्ने प्रतिबद्धता जनाए।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा–७ का वडा सदस्य बसुन्धरा लामिछानेले महिलाको स्वास्थ्यका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर अगाडि बढाउन वडा कार्यालय तयार रहेको बताइन्।कार्यक्रमको सहजीकरण लीला न्यौपानेले र सञ्चालन रमेश सुवेदीले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।