सराङकोटमा भोलिदेखि तीज मेला, तयारी पूरा


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८२ मा प्रकाशित




पोखरा, भदौ ७

पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा भोलिदेखि तीज मेला आयोजना हुँदैछ । भदौ १० गतेसम्म हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आयोजना हुने महोत्सवको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको सराङको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

मेलामा खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ६१ ह्जार, द्वितीय हुनेले ४१ हजार, तृतीय हुनेले ३१ हजार र सान्त्वना हुने ३ समूहलाई जनही २१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट भेषभुषा तथा नृत्यलाई पनि जनही रु.३ हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिनेछ । तीज गीत प्रतियोगितामा सहभागी समूहले सराङकोटको ऐतिहासिक पृष्ठभूमि, धार्मिक एवम् पर्यटनको महत्व विषय केन्द्रीत प्रस्तुती दिनुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै, महोत्सवमा एकल महिला नृत्य प्रतियोगिता पनि हुने जनाइएको छ । जसमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार, तृतीय हुनेले ५ हजार र सान्तवना हुनेले ३ हजार प्राप्त गर्ने महिला परिचालन समिति संयोजक तथा वडा सदस्य कल्पना ढकाल क्षत्रीले जानकारी दिइन् ।

महोत्सवमा डोरी तान्ने प्रतियोगिता पनि हुनेछ । जसमा प्रथम हुनेले रु.११ हजार १ सय, द्वितीय हुनेले ७ हजार १ सय प्रापत गर्ने जनाइएको छ । यसैगरी ठेलो हान्ने प्रतियोगितामा प्रथमले हुनेले ५ हजार एक सय र द्वितीय हुनेले रु.३ हजार एक सय प्राप्त गर्ने प्रचारप्रसार उपसमिति संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

मेला सम्पन्न गर्न सराङकोटधाम धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यियमूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरेर तयारी भइरहेको जनाइएको छ ।

त्यस्तै कृष्णबहादुर थापाको संयोजकत्वमा प्रचारप्रसार, शिवप्रसाद कोइरालाको संयोजकत्वमा आर्थिक संकलन, वडा सदस्य कल्पना ढकाल क्षत्रीको संयोजकत्वमा महिला परिचालन र राजकिशोर थापाको संयोजकत्वमा युवा परिचालन समिति पनि निर्माण गरेर काम भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।