ब्रह्माकुमारीका सेवाकेन्द्रहरूमा रक्तदान कार्यक्रम निरन्तर

- रक्तदान गर्नु व्यक्ति स्वयंको हित होः प्रदेश प्रमुख भट्ट


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८२ मा प्रकाशित




पोखरा, ८ भदौ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताए । ‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्वको बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ ।’ उनले भने ।

संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिज्यूको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्मअन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको छ ।

संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्नुहुँदै यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रुपमा आफूले लिएको बताए । केन्द्रमा अध्यात्मिक चर्चा र ध्यान कार्यक्रमको आयोजना निरन्तर हुने हुँदा सबैको सुख, समृद्धि र शान्ति प्राप्तिका साथ जनजीवन मधुर र समृद्ध बन्न सहयोग पुग्ने अपेक्षा पनि उनले राखे ।

‘आजको समयमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन्। जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ । नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ ।’ उनले भने–‘सबै धर्म र संस्कृतिसँग सम्बन्धित मानिसहरूलाई आफ्नो अन्तरात्मालाई चिन्न, अनुभूति गर्न र राजयोग अभ्यास मार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेछ भन्नेमा आशावादी छु ।’

शाखा प्रमुख ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ७ अध्यक्ष राममोहन आचार्य, समाजका अग्रज देवराज चालिसे, संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले बोलेका थिए । कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन र छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले सञ्चालन गरेकी थिईन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।